वीरगञ्ज – लागुऔषध विनसिरेक्स र नाईट्रोभेट ट्याव्लेटसहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन् ।
लागुऔषधसहित पक्राउ पर्नेमा दोलखा झुले गाउँपालिका २ घर भई हाल चितवन टाँडी नगरपालिका २ बस्ने २० वर्षका सुरज कार्की र मकवानपुर हटौँडा उपमहानगरपालिका ३ बस्ने ३५ वर्षका विकास लामा रहेका छन् ।कार्कीलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोक स्थितमा वीरगञ्जबाट जाँदै गरेको बसबाट लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध नाइट्रोभेट ७५ पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।यस्तै लामालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज १६ बाट प्रहरीले पक्राउ गरेको हो । ना ४४ प २६५७ नम्बरको स्कुटरमा सवार उनको साथबाट लागुऔषध विनसिरेक्स १०० एमएल को २४५ बोतल र नाईट्रोभेट ७५ ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका लामा र कार्कीलाई लागुऔषध शिर्षक मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।