काठमाडौं – प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शुक्रवार दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा दोलखा बैतेश्वर गाउँपालिका ६ का ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए। शुक्रवार राति पेप्सीकोलाबाट सानो थिमि तर्फ आउँदै गरेको बा २१ च ३८३९ नम्बर को नीलो रङको कारलाई रोकेर चेक गर्दा गाडीको डिक्कीमा हजार, पाँच सय र सयको छरपस्ट नोट फेला परेको प्रहरीले जानकारी दिएको छ। सबै नोट गन्दा २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।गाडी विनोद तामाङले चलाएका थिए। पैसा आफ्नो नभएर सुमन घिमिरेको बयान दिएपछि प्रहरीले घिमिरेको बालकोटस्थित डेरामा तलासी गर्दा थप १५ लाख ३० हजार रुपैयाँ फेला परको डीएसपी गिरीले जानकारी दिए। घिमिरेले आफ्नो पैसा भएको स्वीकारसमेत गरिसकेको प्रहरीले दावी गरेको छ।
त्यस्तै, घिमिरेको नाममा काटिएको दुई लाख पचास हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख पचास हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक, एक लाख पच्चिस हजार रुपैयाँको स्ट्याण्डर चार्टर बैंकको चेक, नौ लाख उनान्सय हजार रुपैयाँको नेपाल बैंकको चेक, पन्ध्र लाख रुपैयाँको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा बहत्तर हजार रुपैयाँ नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ।घिमिरेविरुद्ध यस अघि पनि महानगरीय प्रहरी वृत्त महाराजगंज २०७४ कार्तिक १९ गते र दरबारमार्गमा २०७७ पुस ३ गते जुवा खेलेको र खेलाएको अभियोगमा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। घिमिरे बैंकिङ कसुर अभियोगमा मुद्दामा पटके तथा फरार अभियुक्त भएको समेत खुलेको छ। उनीविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धले बैकिङ कसुरमा मुद्दा दर्ता गराएको छ। जुवा खेलेर लाखैं रुपैयाँ लिएर मानिस हिँडेको सुचना आएपछि प्रहरीले प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो।
थप अनुसन्धान तथा कारवाहीका लागी सम्पति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रहरीले जानकारी दिएको छ।