काठमाडौं – अनलाइन पेमेन्ट गेटवे ई–सेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ घर भइ काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने २३ वर्षीय आशिष खड्का छन् ।खड्कालाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार खड्काले पीडितहरुको बारेमा पूर्ण जानकारी लिइ विभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसमा पहुँच स्थापना गरेका थिए । ती डिभाइसमा गुगल एकाउण्टको पासवर्ड पत्ता लगाएर पीडितहरुको ई–सेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्याइ अन्य व्यक्तिको नामको खाता लगायत ई–सेवा अकाउन्ट समेतमा रकम रकमान्तर गरेका थिए ।
ई–सेवाको आइडीमा अनाधिकृत पहुँच कायम गरी अनलाइन ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो ।
खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।