
काठमाडौं – डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन् ।
‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो । ‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा परियार पक्राउ परेका हुन् । उनलाई १३ फागुनमा पक्राउ गरेरअनुसन्धान थालिएको टेकुस्थित अपराध महाशाखाका प्रहरी निरीक्षक भुवनबहादुर खड्काले जानकारी दिएका छन् । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अभियुक्त परियारलाई प्रहरी परिसरमा राखिएको पनि अपराध महाशाखाका प्रहरी निरीक्षक खड्काले बताएका छन् ।खड्काका अनुसार परियारले पाइरेसी गरेको विभिन्न प्रमाण पीडित पक्षले पेस गरेपछि उनमाथि अनुसन्धान थालिएको हो । ती व्यक्तिले दर्जनौं नेपाली फिल्मको पाइरेसी गरेको प्रारम्भिक अध्ययनमा देखिएको पनि उनले बताएका छन् । चलचित्र विकास बोर्ड चाबहिलमा पत्रकार भेटघाट गर्दै पीडित पक्षले यस्तो जानकारी गराएको हो । खड्काका अनुसार अभियुक्त परियारलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरूप सरकारी वकिलको कार्यालबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।
सिनेमा घर एप्सका सञ्चालक सागर खरेलका अनुसार ‘सिनेमा घर एप’मा रिलिज भएका ‘डमरुको डन्डीबियो, सरौतो’सँगै विभिन्न चलचित्र पाइरेसी गरेर गैरकानुनी कारोबार अभियुक्तले गरेका थिए । परियारले सिनेमा घरसहित विभिन्न एप्सबाट पनि फिल्म पाइरेसी गरेको आरोप पनि खरेलको छ ।सिनेमा घर एपका अर्का सञ्चालक एवं अभिनेता खगेन्द्र लामिछानेले आफूहरूले निकै कम शुल्कमा दर्जनौं फिल्म दर्शकले दिँदै आएको बताए । यति हुँदा पनि एक जना दर्शकले आफूहरूलाई करोडौंको घाटामा डुबाएको र ती व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नुपर्दा दुःख लगेको छ भने । उनी पनि आफ्ना दर्शक भएको र पेसाले एक जना शिक्षकसमेत रहेका परियारले यति ठूलो अपराध गर्दा आफूहरूलाई ठूलो घाटा भएको उनको कथन थियो ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पछिल्लो समय युवा पुस्ता इन्टरनेटको पहुँचमा बढी रहने गरेको र उनीहरू यस्तो पाइरेसी प्रकरणमा बढी सक्रिय हुने गरेको पनि बताए । अभिभावकले आफ्ना छोराछोरी पाइरेसीजस्तो जघन्य अपराधमा त लागेका छैनन् भनेर बेलाबेलामा निगरानी गर्नुपर्ने सुझाव पनि उनले बताए ।यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिलेको प्रतिलिपि अधिकारसम्बन्धी कानुन कमजोर रहेको जिकिर गरे । यो कानुन २०५९ ल्याइएको र त्यतिबेलाको यो पाइरेसीसम्बन्धी कानुन कमजोर भएका कारण पाइरेसी गर्नेहरूको मनोबल बढेको पनि उनले जिकिर गरे ।
बोर्डले पाइरेसीसम्बन्धी संशोधन प्रस्ताव राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रस्तुत गरेको र यो पारित भए पाइरेसी गर्नेलाई जधन्य अपराधअनुरूप कानुनी कारबाही हुने पनि अध्यक्ष दाहालले बताए ।