अबुधाबी : युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। शेख जायद रंगशालामा भएको खेलमा मुम्बई ५ विकेटले विजयी भएको हो।
टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि बैंगलोरले पहिलो ब्याटिङ गर्दै ६ विकेट गुमाएर मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो। जवाफमा मुम्बईले १९.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
चोटका कारण नियमित कप्तान रोहित शर्माबिना उत्रिएको मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए। उनले ४३ बलमा ३ छक्का र १० चौका हिर्काए। त्यस्तै इसान किशनले २५ तथा ओपनर क्वीन्टन डि ककले १८ रनको योगदान गरे। कप्तानी सम्हालेका किएरोन पोलार्डले १ बलमा चौका हिर्काए।
बैंगलोरका मोहम्मद सिराज र युजवेन्द्र चाहलले समान २/२ विकेट लिए भने क्रिस मोरिसले १ विकेट हात पारे।
यसअघि ब्याटिङ गरेको बैंगलोरका देवदत पडिक्कलले ७४ रन बनाए। उनले ४५ बलको सामना गर्दै १ छक्का र १२ चौका हिर्काए। त्यस्तै जोश फिलिपले ३३ तथा एबी डिभिलियर्सले १५ रन बनाए।
मुम्बईका लागि जसप्रित बुम्राहले ३ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट र राहुल चाहरले १/१ विकेट हात पारे भने किएरोन पोलार्डको नाममा पनि १ विकेट रह्यो।
जितसँगै मुम्बईले स्पष्ट अग्रता कायम गरेको छ। १२ खेल खेलेको मुम्बईले ८ खेलमा जित हात पार्दै १६ अंक बटुलेर शीर्षस्थान कायम राखेको छ। त्यस्तै समान खेल खेलेको बैंगलोर ७ मा जित निकाल्दै नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ। बैंगलोरलाई पछ्याउँदै समान खेलमा जित निकालेको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा रहेको छ।
आजको खेल चेन्नई सुपर किंस र कोलकाता नाइट राइडर्सबीच हुनेछ। खेल बेलुकी ७: ४५ बजे सुरु हुनेछ।