०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

विराटनगरमा एक युवालाई अपहरण गर्दै बन्धक बनाएर परिवारका सदस्यसँग फितौतीवापत रकमको ‘बार्गेनिङ’गर्ने गिरोह पक्राउ परेको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय सुभाष कामतलाई अपहरण गर्दै बन्धक बनाएर राखेपछि घटनामा संलग्न गिरोहले परिवारका सदस्यलाई फोनमार्फत फिरौतीको ‘बार्गेनिङ’ गर्न थालेको थियो । फिरौतीवापत १० लाख रुपैयाँ माग गरिएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अपहरणमा पाँच जनाको संलग्नता देखिएको छ ।एक महिलासहित तीन जना पक्राउ परे पनि दुई जना फरार छन् । घटनामा संलग्नमध्ये विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार रोहितलाई शनिबार राति उनकै घरबाट र आइतबार बिहान अजयलाई विराटनगर–१२ बखरी तथा सन्ध्यालाई विराटनगर–१ पोखरीयाबाट नियन्त्रणमा लिइएको हो ।

डीएसपी राईका अनुसार घटनामा संलग्नमध्ये विराटनगर–६ का ४७ वर्षीय दीपक शर्मा र विराटनगर–१६ दरैयाका ३२ वर्षीय सिकेन्द्र यादव फरार छन् । भागेकाको खोजी तीव्र पारिएको जानकारी उनले दिए ।राईका अनुसार अनुसार रोहित र अजयले को ३२ प ३९४३ नम्बरको मोटरसाइकलमा राखेर सुभाषलाई घर आसपासबाटै शनिबार दिउँसो १:३० बजेतिर अपहरण गरेका हुन् । उक्त मोटरसाइकल भने सुभाषकै रहेको खुलेको छ । ‘विभिन्न धम्की दिएर बोल्नसमेत नदिइकन मोटरसाइकलमा राखेर अपहरण गर्दै सन्ध्याको घरमा पुर्‍याएर बन्धक बनाउँदै उनीहरुले कुटपिट गरेछन्,’ डीएसपी राईले भने, ‘त्यसपछि परिवारका सदस्यसँग फोन गरेर फिरौतीवापत १० लाख रुपैयाँ माग गर्न थालिएछ ।’मोटरसाइकलमा यात्रा गरिरहेका बेला बीचैमा रोकेका दुई जनाले मोटरसाइकलसहित सुभाषलाई नियन्त्रणमा लिएर लगेको प्रहरीको भनाइ छ ।

उनका अनुसार सुरुमा सुभाषका भाइ विकास कामतलाई फिरौती माग गर्दै फोन गएको थियो । दाईलाई नियन्त्रणमा राखिएको भनेर पैसा मागेको गिरोहले नदिए मारिदिने धम्की दिन थालेपछि विकासले घटनाका बारेमा प्रहरीलाई जानकारी गराएको डीएसपी राईको भनाइ छ ।‘अपहरण गरेर फिरौती माग गरिएको खबर आउनसाथ खोजीका लागि विशेष टोली परिचालन गरियो,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘दुई घण्टाभित्र सकुशल उद्धार पनि गर्न सकियो ।’तर कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेका कारण सुभाषको कोसी अस्पतालमा प्राथमिक उपचार गरिएको खड्काले बताए ।उनका अनुसार प्रहरीले खोज्न थालेको जानकारी पाएपछि सन्ध्याको घरमा बन्धक बनाएर कुटपिट गर्दै यातना दिइरहेको समूहले सुभाषलाई दीपक शर्माको घरमा पुर्‍याएको खुलेको छ । दीपकको घरमा पनि बन्धक बनाएर कुटपिट गर्दै परिवारका सदस्यसँग बारम्बार फिरौती माग गरिएको एसपी खड्काको भनाइ छ । तर प्रहरीले झन् खोजी तीव्र पारेको जानकारी पाएपछि असुरक्षित महसुस गरेको त्यो समूहले सुभाषलाई भारततिर पुर्‍याउने योजना बनाएको खुलेको छ ।

भारततिर लैजाँदै गर्दा उनलाई विराटनगर–१२ बखरीबाट उद्धार गरिएको जानकारी एसपी खड्काले दिए । ‘सबैतिर सर्च अभियान चलाएर खोजी तीव्र पारिएका कारण अपहरणकारीलाई पक्राउ गर्न सकियो,’ उनले भने, ‘केही ढिला भएको भए भारत पुर्‍याउने थिए वा जे पनि गर्नसक्ने अवस्था रहेको देखिन्छ ।’ प्रहरी टोली देख्नसाथ उनलाई त्यहीँ छाडेर अपहरणकारी गिरोह भने फरार बनेको थियो ।तर आइतबार बिहानसम्ममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिन सक्यो । एसपी खड्काले फरार रहेका दुई जना पनि चाँडै पक्राउ पर्ने जानकारी दिए । ‘उनीहरु लुकेर बसेको स्थानका बारेमा केही सुराक आइसकेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने छ ।’प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालिएकाले घटनाको थप कुरा पछि खुल्दै जाने जानकारी दिएको छ । एसपी खड्काले सहज रुपमा पैसा कमाउने उदेश्य राखेर अपहरण गरिएको हो या अरु कुनै कारण छ भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए ।

पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाका बारेमा विस्तृत अनुसन्धान सुरु गरिएको खड्काको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]