१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

कोरोना महामारी फैलिएसँगै सरकारले संक्रमितको उपचार सहज बनाउन बिमा योजना अघि सार्‍यो । विभिन्न कम्पनीहरूले यस्ता योजना ल्याए । लकडाउनका कारण आम्दानी ठप्प भएर बेखर्ची बनेकाहरूलाई कोराना संक्रमण हुँदा उपचार खर्च बेहोर्नै मुस्किल थियो ।

यस्तोमा बिमाबापत रकम हात पर्दा उनीहरूले राहत महसुस गरे । त्यो रकमबाट उनीहरूले अरू गर्जो पनि टार्न पाए । तर कतिपय संक्रमितले लामो समय बित्दा पनि बिमा रकम पाउन सकेका छैनन् । यसकै लागि पटकपटक धाउँदा हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

पटक–पटक पीसीआर गराएँ : डेनी लामा
म काठमाडौं बौद्धमा बस्छु । म यातायात व्यवसायी हुँ । मेरो बस छ । अरनिको यातायातमा आबद्ध छु । चैतमा सरकारले लकडाउन गर्‍यो । सवारीसाधन सञ्चालन गर्न पाइएन । काम थिएन । त्यत्तिकै बसेको थिएँ । एक दिन कफी खान साथीहरूसँग ठमेलको एउटा रेस्टुरेन्ट पुगेको थिएँ । कोरोना बिमाबारे सुनें । साथीहरूले बिमा गर्दा फाइदा हुन्छ भने । यातायात व्यवसायी भएकाले हिँडिरहनुपर्छ । कोरोना लागिहाल्यो भने बिमाले राहत हुन्छ भन्ने लाग्यो । साथीहरूकै सल्लाहअनुसार मैले गत जेठमा परिवारका सबैको बिमा गराएँ । मेरो परिवारमा बुबाआमा, म, श्रीमती र चार जना बच्चा गरी ८ जना छौं । जनही ६ सय रुपैयाँका दरले शिखर इन्स्योरेन्सबाट एक लाख रुपैयाँको बिमा गराएको थिएँ ।

लकडाउन लम्बिँदै गयो । सवारीसाधन गुडाउन पाइएन । काम पनि केही थिएन । पैसा अभावले समस्या पर्न थाल्यो । म पीसीआर परीक्षण गराउन गएँ । त्यतिबेला मलाई रोगभन्दा पनि पैसाको समस्या थियो । कोरोना भइहाल्यो भने १ लाख पाइन्छ भनेरै म पीसीआर गराउन गएको हुँ । मैले चार पटकसम्म निःशुल्क पीसीआर परीक्षण गराएँ । तीन पटक प्रहरी अस्पताल र एक पटक टेकु अस्पतालमा । अघिल्ला तीन पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आयो । अन्तिम पटक गत भदौंमा टेकुमा गरेको परीक्षणमा रिपोर्ट पोजिटिभ आयो । मलाई कोरोना संक्रमणको कुनै लक्षण थिएन । त्यसैले मलाई केही असजिलो भएन ।

रिपोर्ट पोजिटिभ आएपछि १५ दिनसम्म घरमै बसें । बिरामी भएर होइन, कोरोना पोजिटिभ मान्छे बाहिर हिँड्दा प्रहरीले कारबाही गर्छ भन्ने डरले घरमै बसेको हुँ । मैले गुर्जो, फलफूल, औषधि केही पनि खाइनँ । तातो पानी र साँझ–बिहान खाना मात्र खाएँ ।

मेरो रिपोर्ट पोजिटिभ आएको पर्सिपल्ट श्रीमतीको पनि टेकु अस्पतालमा परीक्षण गराएँ । उनको पनि पोजिटिभ देखियो । रिपोर्ट पोजिटिभ आएको सात दिनभित्र बिमा दाबीका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेछ । त्यसपछि मेरा ज्वाइँले बिमा दाबीको प्रक्रिया चाल्नुभयो । बिमा दाबीका लागि कोरोना परीक्षणको रिपोर्ट, स्थानीय तहको सिफारिस सबै सुरुमै बुझाएका थियौं । आवेदन दिएको १५ देखि २० दिनमा पैसा पाएँ । पैसा लिन केही अप्ठेरो झेल्नुपरेन । अरूले समयमा रकम नपाएको सुनेको थिएँ । मेरो त छिटो भयो, कारण थाहा भएन । श्रीमती र मेरो गरेर २ लाख रुपैयाँ पायौं ।

बिमाबाट आएको पैसाले बसका चारवटा टायर फेरें । त्यसमा १ लाख रुपैयाँ खर्च भयो । ५० हजार रुपैयाँ श्रीमतीलाई दिएँ । बाँकी ५० हजार रुपैयाँले बैंकको किस्ता तिरें । मैले कोरोना परीक्षण निःशुल्क गराएको थिएँ । श्रीमतीको पीसीआर गराउँदा २ हजार रुपैयाँ लाग्यो । त्यतिबेला परिवारका अरूलाई पनि रुघाखोकी लागेको थियो । तर पैसा नभएकाले उनीहरूको पीसीआर परीक्षण गराउन सकिनँ । अहिले भने कतैबाट पैसा जुटाएर भए पनि परीक्षण गराउनुपर्ने रहेछ जस्तो लाग्छ । परिवारमा सबैको रिपोर्ट पोजिटिभ आएको भए ८ लाख पाइन्थ्यो । अहिले पछुतो लाग्छ ।अहिले कोरोनाको डर कम छ । सवारीसाधन पनि गुडाउन समस्या छैन । अप्ठ्यारो परेका बेला कोरोना बिमाबापतको रकम मेरा लागि बरदान भयो । सरकारले यस्ता कार्यक्रम समय–समयमा ल्याउनुपर्छ ।

भुक्तानी कुर्दै छु : मनोज गौतम
काठमाडौको नक्साल, भगवती बहालमा बस्छु । मैले जीवनमा पहिलो पटक गत जेठ ३० मा कोरोना बिमा गराएँ । नेपालमा पनि कोरोनाको जोखिम बढिरहेका बेला जोखिम सुरक्षणकै लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत एक लाख रुपैयाँ बराबरको कोराना बिमा गराएको थिएँ । बिमा शुल्क एक हजार रुपैयाँ लागेको थियो ।

गत असोज २२ मा अचानक म बिरामी परें । टाउको दुख्ने, ज्वरो आउने र स्वाद– गन्ध थाहा नहुने जस्ता लक्षण थिए । त्यही दिन सेन्ट्रल डाइग्नोस्टिक ल्याबरेटोरी एन्ड रिसर्च सेन्टर कमलपोखरीमा पीसीआर गराएँ । यो ल्याब स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त हो । रिपोर्टमा कोरोना पोजिटिभ देखियो भनेर ल्याबले टेलिफोनबाट जानकारी गरायो ।रिपोर्ट आएको चार दिनपछि इमेलमार्फत बिमा कम्पनीमा दाबीका लागि आवेदन दिएँ । बिमा गर्दा रिपोर्ट प्राप्त भएको ७ दिनमा दाबी भुक्तानी पाइने भनिएको थियो । आजसम्म बिमा रकम पाउन सकेको छैन । यो अवधिमा बिमा कम्पनी (लुम्बिनी जनरल इन्स्योरेन्स) बाट कुनै किसिमको जवाफ आएको छैन । आफैंले जानकारी लिन खोज्दा कहिले अझै ८ महिनाभन्दा बढी समय लाग्छ, कहिले सरकारको निर्णय आएको छैन, कहिले हाम्रै कर्मचारीले त पाएका छैनन्, तपाईंले कसरी पाउनुहुन्छ भन्ने जवाफ पाइन्छ । निजी प्रयोगशालामा परीक्षण भएको रिपोर्टको दाबी भुक्तानी ढिलो हुन्छ पनि भनिन्छ । सकेसम्म त कम्पनीका मान्छे सम्पर्कमै आउन चाहँदैनन् । आए पनि चित्तबुझ्दो जवाफ पाइँदैन । भुक्तानीका लागि प्रयास गर्दागर्दै थाकिसकेको छु ।

मैले बिमा कम्पनीले भनेअनुसार निवेदन, पीसीआर परीक्षणको सक्कल रिपोर्ट, होम आइसोलेसनमा बसेको स्थानीय तहको पत्र, नागरिकताको फोटोकपीलगायत सबै कागजात पेस गरेको छु । बिमा दुई मिनेटमै गर्ने कम्पनीले दाबी भुक्तानीमा किन आलटाल गरेका ? नेपालमा बिमा कम्पनीले दाबी भुक्तानीमा आलटाल गर्छन्, दुःख दिन्छन् भन्ने त सुनेको थिएँ । अहिले आफैं भोगिरहेको छु । बिमा दाबी नपाएपछि नियामक निकाय बिमा समितिमा उजुरी गर्न पाइन्छ भन्ने सुनेको थिएँ । मैले पनि समितिमा उजुरी दिएँ ।बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सूचना अधिकारी निर्मल अधिकारीसँग टेलिफोनमा कुरा भयो । उहाँहरूबाट पनि चित्तबुझ्दो जवाफ पाइनँ । उहाँहरूलाई भेट्न बिमा समितिको कार्यालय कुपन्डोलमा पनि पुगें । तर भेट्न पाइएन । उजुरी लिएर जानेलाई भित्र पस्न निषेध गरिएको रहेछ । त्यसका लागि सुरक्षाकर्मी नै तैनाथ गरिएको रहेछ । यो त राम्रो भएन नि । दाबी रकम भुक्तानीका लागि दुःख दिने, झुलाउने बिमा कम्पनीलाई कारबाही गर्नॅको साटो बिमा समितिले उनीहरूलाई साथ दिएजस्तो लाग्यो । उजुरी दिएको दुई महिना भइसक्दा पनि कुनै छानबिन र सुनुवाइ नभएपछि मैले दाबी भुक्तानी रकम कहिले पाउँछु भनेर अन्तिम पटक बिमा समितिका सूचना पदाधिकारी निर्मल अधिकारीसँग प्रश्न गर्दा तपाईंजस्ता १५ सय जनाको नाम छ भन्नुभयो ।

मलाई लक्षणसहितका कोरोना लागेको थियो । आइसोलेसनमा रहँदा अप्ठेरो भयो । पैसा नभएकै कारण राम्ररी उपचार गराउन पाइनँ । संक्रमणमुक्त भइसकेपछि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका छन् ।

मैले दाबी भुक्तानीका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको, ज्ञानेश्वर काठमाडौं, बिमा समितिको कार्यालय कुपन्डोल, ईडीसीडी रोग नियन्त्रक कार्यालय टेकुमा धेरै पटक धाएँ । जोखिम सुरक्षण होला भनेरै कोरोना बिमा गरेको थिएँ । दुःख मात्र पाएँ । अझै कति दुःख पाउनुपर्ने हो !

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]