०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विभाजनसँगै पार्टी निकटका ट्रेड युनियन महासंघ अस्तव्यस्त बनेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) दुवैमा यस्तो समस्या देखिएको हो । पार्टी एकीकरण भए पनि एक हुन नसकेका महासंघहरु पार्टी फुटको अवस्थामा भने वैचारिक र राजनीतिक रुपमा विभाजनको अवस्थामा छन् ।

पार्टी एकीकरण हुनुअघि तात्कालिन एमाले निकट रहेको नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) मा अहिले सबैभन्दा ठूलो समस्या देखिएको छ । महासंघको केन्द्रीय समितिमा केपी शर्मा ओली निकटको वर्चस्व छ । उता महासंघ अन्तर्गतका महत्त्वपूर्ण घटकहरुमा भने माधव नेपाल समूहको वर्चस्व छ ।जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ यतिबेला ओली समूहमा छन् । जीफन्टका संरक्षक समेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको निर्देशनमा महासंघले संस्थागत निर्णय गर्दै आएको छ । केन्द्रीय समितिका बहुमत भएकै कारण जीफन्टलाई निर्णय प्रक्रियामा कुनै असहजता छैन ।तर, महासंघभित्रकै अर्को ठूलो हिस्सा भने माधव नेपाल समूहको पक्षमा छ । अध्यक्षको निर्वाचनमा वरावरी मत पाएर गोला प्रथाबाट पराजित भएका विष्णु लम्साल यतिबेला माधव नेपाल समूहमा छन् । उनकै नेतृत्वमा ‘प्रतिगमन विरुद्ध श्रमिक परिचालन कमिटी’ गठन भइ आन्दोलनामा श्रमिकलाई ल्याउने नेतृत्व काम अघि बढिरहेको छ । त्यसो त, उनकै नेतृत्वमा जीफन्ट अन्तर्गत नेतृत्वइतर पक्षले छुट्टै माघ २५ गते आफ्नो पक्षको भेला समेत आयोजना गरेको थियो ।

जीफन्टको केन्द्रीय कमिटीबाहेक यसअन्तर्गतको घटक संगठनमा भने माधव नेपाल समर्थक समूह बलियो छ । जीफन्ट अन्तर्गत १८ वटा घटक संगठनहरु छन् । सबैभन्दा शक्तिशाली मानिँदै आएको यातायात मजदूर संघ, निर्माण मजदूर संघ लगायतमा नेपाल समूहको नेतृत्व छ । अन्यमा पनि नेपाल समूह नै अगाडि रहेको बताइन्छ । महासंघ र घटक संगठनहरुबीच तालमेल नमिल्दा महासंघका अधिकांश गतिविधि ठप्प अवस्थामा छन् ।

पेशागत महासंघमा समानान्तर कमिटीको अभ्यास :
जीफन्टले निजी क्षेत्र आवद्ध श्रमिक संगठनको प्रतिनिधित्व गरेजस्तै तात्कालिन एमालेसँग निकट रही सरकारी तथा सार्वजनिक संस्थानमा रहेका युनियनहरुको छुट्टै पेशागत महासंघ पनि छ । यो महासंघमा भने उल्टो अवस्था छ ।

सो महासंघमा उपाध्यक्ष दीपक सुवेदीबाहेक सिंगो टीम माधव नेपाल समूहको समर्थक रहेको बताइन्छ । सो महासंघ अन्तर्गत २५ वटा घटक संगठन छन् । त्यसमध्ये अधिकांश संगठनमा माधव नेपाल समूहकै बाहुल्यता छ ।पेशागत महासंघमा आफ्नो नेतृत्व कमजोर भएपछि ओली समूहले समानान्तर कमिटीको अभ्यास सुरु गरेको छ । सो समूहले माघ २६ गते कार्की ब्याङ्क्वेटमा भेला गरी बाबुराम थापा नेतृत्वमा २ सय ५० जना सदस्यसहितको समानान्तर कमिटी घोषणा गरेको हो । नवगठित कमिटीका अध्यक्ष थापा यसअघि महासंघकै अध्यक्षमा पराजित भएका उम्मेदवार हुन् ।महासंघको समानान्तर कमिटी घोषणा गरेपछि यतिबेला सो समूहले घटक संगठनहरुलाई आफ्नो पक्षमा ल्याउन प्रयास सुरु समेत गरिसकेको छ । अहिले नेपाल टेलिकम आवद्ध संगठनले नवगठिन महासंघमा जान तयार भइसकेको स्रोतले जनाएको छ । अरु संगठनलाई समेत मनाउने क्रम जारी रहेको र अपेक्षाअनुसार सफलता समेत मिलिरहेको सो पक्षको दाबी छ ।

माओवादीनिकट महासंघमा पनि समस्या :
तात्कालिन माओवादी निकट मानिने अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) मा अहिले जगत सिम्खडाको नेतृत्व छ । हालसम्म सो महासंघभित्र समानान्तर गतिविधि भएको छैन । यद्यपि यसमा आवद्ध रहेको यातायात मजदूर संगठन भने यसअघि नै फुटिसकेको छ ।अहिले माओवादीनिकट यातायात मजदूर संगठनलाई फुटाएर अर्को ‘नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठन’ नामक नयाँ संघ गरिसकेको छ । सो फागुन ८ गते राष्ट्रिय महाधिवेशन गर्न लागेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए । सो सभामा लेखराज भट्टलाई प्रमुख अतिथि बनाउन लागिएको बुझिएको छ ।

वर्तमान नेतृत्वले अहिलेको मजदूर आन्दोलनको आवश्यकता र वस्तु परिस्थिति अनुसार आफूलाई सर्भाइभ गर्न त्यसअनुसार नीति कार्यक्रम दिन नसकेपछि आफूहरुले छुट्टै संगठनको अभ्यास गर्नु परेको अध्यक्ष शर्माको दाबी छ ।

कानूनी रुपले मात्रै सँगै:
व्यवहारिक रुपमा फुटिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जसरी कानूनी रुपमा भने अहिले पनि एउटै छ, त्यसैगरी कानूनी जटिलताकै कारण अहिलेसम्म पनि यो महासंघ फुटबाच बचिरहेको छ । अखिल नेपाल स्वतन्त्र मजदूर संघमा अध्यक्ष भीमज्वाला राई श्रमिक संगठनहरु पार्टीको भातृ संगठनजस्तो नभएकोले तत्कालै फुट्ने वा तत्कालै जुट्ने सम्भावना नरहेको बताउँछन् । उनले यस्तो अवस्थामा आफूहरुले महासंघभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरेको बताउँछन् ।

‘ट्रेड युनियन महासंघ पार्टीको युवा संगठन वा विद्यार्थी संगठनजस्तो यो जनसंगठन होइन । यो ऐनअनुसार दर्ता भएर चलेको महासंघ भएकोले हुनाले यहाँ तत्कालै फुट्ने स्थिति हुँदैन । त्यसैले यो पेशा, समस्या, कानून र श्रमजीवीको जीवनसँग जोडिएको हुनाले तत्कालै राजनीतिक प्रभाव यहाँ देखिँदैन,’ राईले भने, ‘तर प्रधानमन्त्रीले चाल्नुभएको पछिल्लो राजनीतिक कदम प्रतिगमन भनेर हामी त्यसविरुद्ध आन्दोलनमा उत्रियौं । जीफन्टको केही नेतृत्वले प्रधानमन्त्रीको कदमलाई प्रतिगमन देख्नुभएन, यो विरोधाभाष भएको छ । तर, वैचारिक रुपमा अलग भए पनि हामीले महासंघभित्र अन्तसंघर्ष गर्छौं ।’जीफन्ट भने घटक संगठनहरुको गतिविधिप्रति प्रतिक्रियात्मक नहुने निष्कर्षमा पुगेको छ । बहुसंख्यक संघठन आफ्नो अनुकुलमा नभएपछि तत्कालै कारबाही गर्दा महासंघको अस्तित्वमाथि नै संकट आउने देखिएपछि तत्कालै कुनै कदम नचाल्ने निर्णयमा जीफन्ट पुगेको हो । यसको सट्टामा जीफन्टको मूल नेतृत्वले समानान्तर कार्यक्रमहरुलाई भने अघि बढाइरहेको छ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बोलाएर जीफन्टले आफ्नो पक्षको भेला गरेको थियो । सो भेलालाई माधव नेपाल समूहले बहिस्कार गरेको थियो महासंघका महासचिव जनक चौधरी जीफन्टमा आवद्ध व्यक्तिले पनि भिन्न विचार राख्न पाउने भएकोले यसलाई आफूहरुले सामान्य रुपमा लिएको बताउँछन् । ‘जीफन्टको मूल नेतृत्वले सरकारको नेतृत्व केपी शर्मा ओलीको नेतृत्वलाई समर्थन गर्छ । तर व्यक्तिगत रुपमा जोकोहीले पनि आफ्नो विचार राख्न पाउँछन् ।

हामीकहाँ नेपाल मजदूर किशान पार्टी समर्थित मजदूर संगठन पनि आवद्ध छ । उहाँहरुले छुट्टै गतिविधि गर्न पाउनुहुन्छ,’ महासचिव चौधरी भन्छन्, ‘यसैगरी महासंघमा आवद्ध भएका अन्य सदस्यले पनि व्यक्तिगत विचार राख्न र यसअनुसार गतिविधि गर्न पाउँछन् । तर, त्यस्तो गतिविधिमा महासंघको झण्डा प्रयोग भएको पाइयो भने चाहिँ त्यो इस्यु हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]