
काठमाडौं । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानिय जंगलमा शब फेला परेको हो ।
बुधबार घरबाट विद्यालय गएकी किशोेरी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा जंगलमा शव भेटिएको थियो ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ ।’ स्थानिय शिबराज भट्टले जानकारी दिए ।सनातन धर्म माविमा अध्ययनरत किशोरी बुधबारसम्म विद्यालय आएको प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए ।घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’ उनले भने ।
घटनाबारे अनुसन्धान गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।