आकस्मिक र कोरोना बाहेकका सेवा सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोरोना बाहेकका सबै सेवा आइतबार बहिस्कार गर्ने भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं अनशनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कोरोना र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय भएको संघले बताएको छ ।
भर्चुअल माध्यमबाट शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । अनशनमा रहेका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न आफुहरु बाध्य भएको उनले बताए ।
सरकार गम्भीर नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भिर आपत्ति समेत प्रकट गरेको छ । आइतबारसम्म पनि अनशन अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने रिजालले बताए ।
संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपालभरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने रिजालले बताए ।
डा. केसी २७ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।