
सप्तरी – काठमाडौं, टोखा नगरपालिका-८ रमणबस्ती बाट २५.२ ग्राम लागुऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ खनियावास गाउँपालिका-४ स्थायी ठेगाना भएका ३१ वर्षीय दुर्गासिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गासिंलाई ६ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँसहित पक्राउ गरेको हो।साथै घटनाको अनुसन्धानको क्रममा उनको कोठाबाट थप १९.२ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको हो । काठमाडौंको स्वयम्भु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय सुशील नेपाल लगायत ३ जनालाई एक सय २३ ट्याबलेट नाइट्रोभ्याट, २५ एम्पुल पेन्टाजोलाइन, ३० एम्पुल डाइजेपाम, ३० एम्पुल फेनारगन, ३० एम्पुल नोर्फिन र कफ सिरप दुई बोतलसहित प्रहरीले पक्राउ गरेको छ । बा.२ ज २०६५ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरीपरिसर काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्याक्सीमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागुऔषध १८ एम्पुल डाइजेपाम, ४९ एम्पुल फेनारगन, २६ एम्पुल नोर्फिन र ३५ ट्याब्लेट नाईट्राजेपामसहित मकवानपुर थाहा नगरपालिका-७ घर भएका २८ वर्षीय नविन बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५९९० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिष्टको साथमा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । सिरहाको नरहा गाउँपालिका-३ चोहर्वाबाट करिब एक ग्राम एक सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष्णकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । महतोले लागुऔषध बिक्री गरिरहेको खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरीले उनलाई पक्राउ गरेको हो । चितवनको राप्ती नगरपालिका-१ लोथरबाट करिब एक सय ५० ग्राम लागुऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डारा र सशस्त्र प्रहरी बेस क्याम्प भण्डाराबाट खटिएको प्रहरीले ना.६ ख १३७१ नम्बरको ट्रकमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।