
सप्तरी – लागुऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन्।सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए। “काठमाडौँ उपत्यकाभित्र लागुऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उनले भने।प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ।
यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो । पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ।