सप्तरी – तीन दिनअघि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइ–कराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो ।
तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई नै पक्राउ गरेको छ ।प्रहरीले अनुसन्धानकै क्रममा झूटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरूमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरीमा पीडितलाई पठायो । ‘म ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरूले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याए । अनि दुईतले पक्की घरमा लगेर रातभरि बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् ।घटनाको जानकारी पाएपछि प्रहरीले युवतीकी भाउजू नाता पर्ने चिनीमाया र साथी कल्पनालाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज गराएर घटनास्थल यकिन गर्न एक टोली पठाएको थियो । तर बलात्कार स्थल यकिन हुन नसकेपछि युवतीले आरोप लगाएका व्यक्तिहरूको फोटो फेसबुकबाट खोजेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
‘बलात्कार गर्ने भनिएकाहरूको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन,’ जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले भने, ‘बन्धक बनाएको ठाउँ देखाउन भन्यौं तर उनले सकिनन् । त्यसपछि उनीमाथि शंका लागेर सोधपुछ गर्दा बलात्कार नै नभएको र झूटो आरोप लगाएको ठहरियो ।’ प्रहरीले केरकार गरेपछि ६ लाख रकम पाउने लोभमा अरूलाई फसाउन खोजिएको खुलेको थियो ।रौतहटको गरुडा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बसेका गजेन्द्र साह कानुले झूटो बलात्कारको योजना बनाई गरुडाकै रामनिवास साहलाई फसाउन यस्तो हर्कत गरेको खुलेको डीएसपी श्रेष्ठले सुनाए । दुवैबीचको लेनदेन मुद्दाको रिसइबी साध्न गजेन्द्रले चिनीमायालाई समेत रकम र जागिर दिने प्रलोभन देखाई योजना बनाएको खुलेको छ । रामविनय र गौरका एक कर्मचारीसहित ५ जनालाई झूटो मुद्दामा फसाउने उनीहरूको योजना थियो ।
योजना मुताबिक पुस २७ गते उनीहरू काठमाडौंबाट बारा–सिमरा आएका थिए । त्यहाँबाट चिनीमाया र कल्पना वीरगन्जतर्फ गए । गजेन्द्रले पीडित भनिएकी युवतीलाई साथमा लिई पुस २८ गते चन्द्रनिगाहपुरमा ल्याएर छाडे । यहींबाट उनीहरूको झूटो बलात्कारको नाटक सुरु भएको डीएसपी श्रेष्ठले सुनाए । घटनाका मुख्य योजनाकार गजेन्द्र हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनायो ।