
राजविराज — सप्तरीस्थित खाडो नदीको पूर्वी तटबन्धमा कटान सुरु भएको छ । सामान्य बाढीले नै तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही र सकरपुराको बीचमा रहेको तटबन्धमा कटान गर्न थालेको हो । पालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार ५ मिटर चौडाइ रहेको तटबन्धको एक मिटर भाग बाढीले कटान गरिसकेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित खाडो नदीको पूर्वी तटबन्धस्थल । तस्बिर : अवधेश/कान्तिपुर
उक्त स्थानमा तटबन्ध गर्ने काम यसअघिदेखि नै जारी रहे पनि अलपत्र छ । तटबन्ध गर्न खाल्डो खनेर त्यसै छोड्दा कटान सुरु भएको हो ।
अहिले कटान भएको ठाउँमा तटबन्ध भत्किए तिलाठी कोइलाडी–१ को तिलाठी, ३ को सकरपुरासहित हनुमाननगर कंकालिनी नगरपालिकाको मल्हनिया जलमग्न हुने जोखीम छ ।
खाडो नदीबाट रुपनी, तिलाठी कोइलाडी तथा राजविराज नगरपालिका पनि प्रभावित हुँदै आएका छन् । हरेक वर्ष बाढीका कारण विस्थापन हुनेको संख्या पनि बढ्दो छ । असार, साउन र भदौमा बाढी खेतीयोग्य जमिन र बस्तीमा पस्दा धनजनको क्षति हुँदै आएको छ ।