
लेटाङमा महिला प्रहरीको हत्या प्रकरण, १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता
मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणसँग जोडिएको मुद्दा बुधबार अदालत पुगेको छ । सरकारी वकिल कार्यालय मोरङले १५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । घटनाको अनुसन्धान सकेर प्रहरीले यसअघि नै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
मिसिल अध्ययन गरेर अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले १५ जनालाई अभियुक्त बनाएर कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । अभियुक्तमध्ये १० जनामात्रै पक्राउ परेका छन् । पाँच जना अझै फरार रहेको प्रहरीले जनाएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय समीर राई, १८ वर्षीय कपिल नेपाली र २५ वर्षीय मनकुमार महरा, २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मालगायतविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रतिवादीविरुद्धको मुद्दाको थप प्रक्रिया भने आगामी वैशाख ४ गतेदेखि मात्रै अघि बढ्ने छ । त्यसअघि सार्वजनिक बिदा परेका कारण अदालत बन्द रहने छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मुद्दाको थप प्रक्रिया अघि बढाउन अभियुक्तहरुलाई वैशाख ४ गते पुनः उपस्थित गराउने गरी फिर्ता पठाइएको बताए ।
लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये १५ जना नाबालकविरुद्ध अदालतमै अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । उनीहरूमध्ये १० जनाको बयान अदालतले लिइसकेको छ । पाँच जनाको बयान लिन बाँकी छ । पक्राउ गरेर प्रहरीले हिरासतमा लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जानकारी सरकारी वकिल कार्यालयले दिएको छ ।
छुट्टै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका एक जना १४ वर्षीय नाबालकलाई भने थुनछेक बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले अभिभावकको जिम्मा लगाउन मङ्गलबार आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए । घटनामा पक्राउ परेकामध्ये २५ जनाविरुद्ध भने जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको छ । २५ जना नै साबालक रहेकाले उनीहरूविरुद्धको अभद्र व्यवहार मुद्दा प्रशासनमा दर्ता हुने भएको हो । नाबालकको हकमा मात्रै यस्तो मुद्दा अदालतमा आउने सूचना अधिकारी बुढाथोकीले बताए ।
लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले गत चैत ६ गते प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको दाबी प्रहरीले गर्दै आए पनि वास्तविकता फरक रहेको पुष्टि भएको छ ।
पोस्टमार्टम रिपोर्टले गोली लागेर श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ । प्रदर्शन थप उग्र बनेपछि त्यतिबेला स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रदर्शनकारीले पनि गोली चलाएको प्रहरी दाबी छ । महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग ‘म्याच’ नखाएकाले प्रदर्शनकारीले चलाएको गोलीले उनको मृत्यु भएको दाबी गरिएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेको छैन ।
छात्रामाथि दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेलविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर प्रहरीले बुधबार नै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ । मिसिल अध्ययन गरेर अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अदालतमा आगामी वैशाख ४ गते शिक्षक पौडेलविरुद्ध पनि जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गर्ने भएको छ ।