
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले देशैभरका ६ स्थानीय तह बाहेक ५० स्थानीय तह जित्ने दाबी गरेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको छ । नेकपा एमालेसँग चुनावी तालमेल भएमा त्यो भन्दा बढी जित्न सकिने नेताहरूले बताएका छन् ।
देशैभरका ६ महानगरपालिकामध्ये मधेस प्रदेशमा वीरगञ्ज महानगर पालिका परे पनि लोसपाले जित्न निक्कै गाह्रो रहेको लोसपा कार्यकारिणी सदस्य एकवाल मियाँले स्वीकार गरे । तर, जनकपुर र कलैया उपमहानगरपालिका लोसपाको जित्ने अपेक्षा छ । यसअघि जनकपुर उपमहानगर पालिका तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकाले यस पटक पनि जित्ने अपेक्षा छ । गत आइतबार लोसपा जनकपुर उपमहानगरपालिकाको नगर समिति बैठकले ५/५ जना मेयर उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा मनोज चौधरी, परमेश्वर साह, जानकीराम साह, अमर परियार र सञ्जय चौधरी छन्। यस्तै उपमेयरमा विभा ठाकुर,विभा पाण्डे,रीता मिश्रा, पुनम झा मैथिल र पुनम साहको नाम सिफारिस भएको छ। मेयर र उममेयरमा सर्वसम्मत नभएपछि ५/५ जनाको नाम सिफारिस गरिएको हो।