
प्रतिनिधिसभा सांसद डाक्टर डिला सङ्ग्रौला पछिल्लो समय विराटनगरमा छिन् । केन्द्रका नेताहरूलाई मेयरमा उठ्छु भनेर विराटनगर आएकी सांसद सङ्ग्रौलाले घरदैलो र कार्यकर्ता भेटघाट गरिरहेकी छन् ।
लामो समय प्राध्यापक पेशामा रहेकी उनी पार्टीले टिकट दिए उम्मेदवार बन्ने बताउँछिन् । प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गरेकी उनी विराटनगरको विकासका लागि मेयरमा उठ्ने इच्छा रहेको बताउँछिन् ।
२०७४ को निर्वाचनमा पनि उनी दाबेदार थिइन् । तर पार्टीले भीम पराजुलीलाई टिकट दिएको थियो ।
विराटनगरको मेयरका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट टिमबाट सङ्ग्रौलासँगै अमृत अर्याल दौडमा छन् । कृष्णप्रसाद सिटौलाको टिमबाट मेयर भीम पराजुली र डा. शेखर कोइराला पक्षबाट नागेश कोइराला, उपप्रमुख इन्दिरा कार्की, अरुण गुप्ता दाबेदार छन् । पराजुली पछिल्लो समय देउवा क्याम्पसँग नजिकिएका छन् ।
२०३५ सालमा दाङमा नेविसङ्घको सदस्यता लिएकी सङ्ग्रौला २०४८ सालमा विराटनगर–१५ मा महिला सङ्घको वडा सभापति बनेकी थिइन् । काङ्ग्रेसको जिल्ला उपसभापति हुँदै नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष बनेकी उनी दुई पटक पार्टीको केन्द्रीय सदस्य पनि बनेकी थिइन् ।
आफूले देश बुझेको र अनुभवका आधारमा विराटनगरलाई उदाहरणीय बनाउने उनको तर्क छ ।
विराटनगर महानगपालिकाको प्रमुखको उम्मेदवार बन्ने आकांक्षा राखेकी सङ्ग्रौलालाई सांसदबाट राजीनामा दिएर दाबी गर्न महानगर कार्यसमितिले सुझाव दिएको छ ।
सांसदको पदमै रहेका बेला सङ्ग्रौलाको नाम महानगर समितिले सिफारिस गर्न नसक्ने विराटनगर महानगरका काङ्ग्रेस सभापति दीपक चापागाईंले बताए । उनले संसदबाट राजीनामा दिए नगर कमिटीले नाम सिफारिस गर्ने बताए ।