
सप्तरी – चौरजहारीवासीले खानेपानीको ५ युनिटसम्मको महशुल शुल्क तिर्नु नपर्ने भएको छ । पालिकाभित्रका उपभोक्तालाई शुल्क मिनाहा गरिएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्थित खानेपानी आयोजनाको ट्यांकी ।
नगरपालिकाले विजयश्वरी–चौरजहारी सुक्खा खानेपानी आयोजनामार्फत वितरित पानीमा ५ युनिटसम्मको शुल्क तिरिदिने व्यवस्था मिलाएको जनाएको छ । यसअघि उपभोक्ता आफैंले आयोजनालाई तिर्दै आएको महशुल एकमुष्ट भुक्तानी गर्ने गरी नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । जसका लागि नगरपालिका र विजयश्वरी–चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ । संस्थाका अध्यक्ष तेजबहादुर बटालाले विद्युत् महसुलमा उपभोक्तालाई छुट दिइएको जानकारी दिए । ‘पानी प्रयोग गरेबापत् ५ युनिटसम्मको विद्युत् महसुल पनि अब उपभोक्ताले तिर्नुपर्ने छैन,’ उनले भने, ‘अब यसको भुक्तानी नगरपालिकाबाट हुनेछ ।’ महसुलको विषयमा नगरपालिकासित सम्झौता भइसकेको र अब उपभोक्ताबाट शुल्क बापतको रकम नउठाइने उनले जानकारी दिए ।
संस्थाले उपभोक्ताबाट ६ युनिटसम्मको पानी प्रयोग गरेको ३ सय रुपैयाँ महसुल लिने गरेको छ । ७ देखि प्रतियुनिट बढ्दै जाँदा ६० रुपैयाँ थपिँदै जाने गरी मापदण्ड तोकिएको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले आधारभूत आवश्यक्ताको रुपमा रहेको खानेपानीमा छुट दिने निर्णय गरिएको बताए । ‘पानी सबैका लागि महत्वपूर्ण छ, यसमा नगरपालिकाले केही योगदान गर्न खोजेको हो,’ उनले भने, ‘अहिले ५ युनिटसम्मको पानीको महसुल उपभोक्ताले नतिनुपर्ने गरी निर्णय गरेका छौं ।’
आयोजनामार्फत १, २ र ३ नम्बर वडाका ११ सय ७० उपभोक्ताको घरमा पानी वितरण भएको छ । यसअघि खानेपानीका कारण समस्या व्यहोरेका चौरजहारी उपत्यकावासीले पछिल्लो २ वर्षयता ढुक्कले खानेपानी पाइरहेका छन् । २०७६ फागुन २ मा आयोजना निर्माण भएको थियो । २१ करोड ६५ लाख रुपैयाँमा बनेको आयोजनाले आफूहरूको वर्षौंदेखिको खानेपानी समस्या हल गरेको २ नम्बर वडाका नरेन्द्र खड्काले बताए ।
उनका अनुसार चौरजहारीका बासिन्दालाई लामो समयसम्म ठूलीभेरी नदीको फोहोर पानी उपयोग गर्नुपर्ने बाध्यता थियो । आयोजना निर्माण भएपछि ठूलीभेरी नदीबाट खानेपानी ओसार्ने खच्चड र ट्यांकर विस्थापित भएको उनले जानकारी दिए ।