
काठमाडौँ – सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् । शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो ।
छलफल पछि माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए । प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए ।
एमसीसीको मुद्दाले धेरै विषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उनको भनाई छ । उनले एमसीसीलाई गठबन्धनसँग जोड्न नहुने तर्क गरे । त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका विषयमा कुनै छलफल नभएको बताए ।
उनले मुलुकको हित विपरीतका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए । एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरू आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुई पटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ ।