
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले तराई-मधेशका विभिन्न जिल्लामा जारी किसान आन्दोलनको माग सम्बोधन गर्न माग गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिएको पनि बताएका छन् ।
उनले भनेका छन्,‘किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।’
‘वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्दछु’, उनले भनेका छन्,‘ आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था नेपाल सरकारलाई गर्न आग्रह गर्दछु ।’ डा.सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न जिल्लामा दिनहुँ विरोध प्रदर्शन गर्दै आइरहेको छ ।