
काठमाडौँ – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सिंगो कांग्रेसको नेता भएर अघि बढ्न सुझाव दिएका छन् । बुधबार कोइराला समूहको बैठकपछि उपसभापतिमा पराजित भएका नेता भण्डारीले भने, ‘अब विगतको जस्तो गुटगत अभ्यास हुँदैन, हामी सडकमा, सामाजिक सञ्जालमा छरपष्ट भएर गाली गर्दैनौं, हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं ।’
उनले पार्टीमा आफूहरूले गुटबन्दी गर्न नचाहेको स्पष्ट पारे । ‘हामी गुटबन्दी गर्दैनौं । तर, कार्यकर्ताले पाउने समान अवसर र न्यायका बारेमा वकालत गर्छौं,’ उनले भने । उपसभापतिमा पराजित अन्य उम्मेदवार केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् । तर, देउवाले कोइराला समूहका उम्मेदवार भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेका छैनन् ।
नेता भण्डारीले देउवाले कम अंक ल्याउनेलाई पास गराउने र निरन्तर अंक ल्याउनेलाई फेल गराउन नमिल्ने बताए । ‘अब पार्टीको सभापति उहाँ नै हो । हाम्रो प्रश्न पत्र बनाउने, उत्तरपुस्तिका जाँच्ने र नम्बर दिने भूमिकामा उहाँ नै हुनुहुन्छ । उहाँले अत्यन्तै कम अंक ल्याउनेलाई पनि पास गराउने र कोही निरन्तर अंक ल्याउनेलाई पनि फेल गराउने गर्न मिल्दैन, उहाँले न्यायपूर्ण व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘देश संविधानले चल्छ, पार्टीहरू विधान र विधिले चल्छन्, उहाँले विधि र विधानबमोजिम अघि बढ्नुपर्छ ।’
बुधबारको बैठकमा महाधिवेशनमा कोइराला समूहको जित र हारको विषयमा गम्भीर समीक्षा भएको भण्डारीले बताए । ‘महाधिवेशनमा हाम्रो हार र जितको समीक्षा गर्यौं, किन हार्यौं ?, जित्नेले के कारणले जिते, यी विषयमाथि हामीले गम्भीर भएर छलफल गरेका छौं,’ उनले भने, ‘हाम्रो सामुन्नेमा तीन तहका निर्वाचन छन्, यस्तो बेला पार्टीमा विभाजन होइन, एकढिक्का भएर अघि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’