
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव शाहले नगरपालिकाको भवन निर्माण गर्न जग्गा दान गरेका छन्। मेयर साहले नगरपालिकाको नाममा १० कट्ठा १९ धुर जग्गा दान गरेका हुन्। उनले विगत केही महिनादेखि आफ्नै घरमा निःशुल्क नगरपालिका कार्यालय सञ्चालन गरिरहेका छन्। आफूले दान गरेको जग्गामा भवन निर्माण नभएसम्मका लागि कार्यालय आफ्नो घरबाट सार्न नपर्ने र भाडा नलिने उनले लिखित प्रतिबद्धतासमेत गरेका छन्।
मेयर शाह मृत्युपछि कसैले केही नलाने भएकाले आफूले परोपकारका लागि जग्गा दान गरेको बताउँछन्। उनले भने, ‘एकपटक एक अपरिचित साधुले जलेश्वरमै दिएको उपदेशले जीवन परिवर्तन भएको छ। ती साधुले भनेका थिए–पैसाको पछि नभाग्नु, तिम्रो भविष्य निक्कै उज्ज्वल छ। मृत्युपछि लिएर केही जानु छैन। जबसम्म बाँचेका छौ, परोपकार गर।’
आमा फूलीदेवीको नाममा रहेको उक्त जग्गा आमाबुबाको नाम भवनको शिलापत्रमा उल्लेख गर्नुपर्ने सर्तमा शाहले दान गरेका हुन्। भौतिक शरीर रहुन्जेल र मरणोपरान्तसमेत आमा बुबाको नाम रहिरहने भएकाले जग्गादान गरेको उनले बताए। नगरपालिकाको मेयर पद एउटा जिम्मेवारी भएको र आफू व्यावसायिक रूपमा समेत सक्षम रहेकोमा आफ्नै व्यवसायबाट आर्जित रकमको सदुपयोग गरेको उनी बताउँछन्। शाहले मेयर बन्नु अघि करिब नाै वर्ष पहिले आफ्नै पैसाले भंगहा– ४ रामनगर बिर्तामा नेवार समुदायका लागि भीमसेन मन्दिरसमेत निर्माण गराएका थिए।