२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०८, २०७८

रोल्पा – रोल्पामा तास खेलेर सँगै सुतेका तीन साथीमाथि एक जनाले रड प्रहार गरेको खुलेको छ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर एउटै कोठामा सुतेका तीन साथीमाथि रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनाको अनुसन्धानका क्रममा सँगै सुतेका साथीमाथि टेकबहादुरले रड प्रहार गरेको खुलेको बताए।

रड प्रहारबाट रुन्टीगढी ७ का ३९ वर्षीय सरोज पुन, ४२ वर्षीय भीमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय मैतबहादुर बिक घाइते छन्।

घाइतेमध्ये थापा र विकको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू जंगल छेउ पुगेर तास खेलेका थिए।

‘दुई-तीन दिनदेखि जंगलमा बसेर तास खेलेका रहेछन्। घटना भएको दिन पनि सँगै तास खेलेर उनीहरू होटलमा सुत्न गएका रहेछन्,’ प्रनाउ घिमिरेले भने, ‘हारेपछि आक्रोशमा घटना भएको हो कि पैसा लुट्न हो भन्ने अझै खुलेको छैन।’

प्रहरीले भने वलीको साथबाट पैसा बरामद नभएको बताएको छ। रड प्रहार गरेकोबारे सुरूमा अस्वीकार गरे पनि पछि वलीले घटना घटाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

आफूसँग १६/१७ हजार मात्रै पैसा भएकोले कम दाउ हानेकोसमेत बयान वलीले दिएका छन्। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार हातखोला भन्ने ठाउँबाट पक्राउ गरेको थियो।

उनीहरू मंगलबार राति रुन्टीगढीको होलेरी बजारस्थित ‘होलेरी गेष्ट हाउसमा’ बास बसेका थिए। घटना भएको थाहा पाएपछि बुधबार बिहान करिब ३ बजेतिर प्रहरी उक्त होटल पुगेको थियो।

घाइते अवस्थामा भेटिएका उनीहरूलाई उद्धार गरी उपचारका लागि राप्ति विज्ञान प्रतिष्ठान पठाइएको थियो। थप उपचार गर्न घाइतेहरूलाई भैरहवा र कोहलपुर लगिएको थियो। घाइतेको अनुहार र टाउकोमा चोट छ। घटनास्थलबाट रडसमेत बरामद गरिएको प्रहरीले बताएको छ।

घाइतेमध्ये थापाको रा ४ प २५०० नम्बरको मोटरसाइकल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर खोलामा फेला परेको छ। प्रहरीको दाबीअनुसार रड प्रहार गर्ने वलीले नै उक्त मोटरसाइकल चलाएर दाङमा छाडेका थिए।

मोटरसाइकल खोलामा छोडेर उनी टिपर चढेर रोल्पा फर्कदै गर्दा पक्राउ परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]