
सप्तरी – बलात्कारको आरोप लगाई धम्क्याएर रकम ठगी गरेको भन्दै सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्ग नगरपालिका–९ लालपट्टीकी २५ वर्षीय रुविना खातुन र रहमान मियाँ छन् ।
प्रहरीका अनुसार रुविनाले रहमानसँग मिलेर गुलेसा खातुनलाई धम्क्याई १ लाख रुपैयाँ ठगी गरेकी हुन् । गत मंसिर ३ मा रुविनाले गुलेसालाई फोन गरी ‘तिम्रो पतिले मलाई जवरजस्ती करणी गरेको छ, मिलाउने हो भने ४ लाख दिनुपर्छ नभए म भोलि नै प्रहरीमा मुद्दा दर्ता गर्न जान्छु’ भन्दै रकम मागेकी थिइन् । गुलेसाका पति समसुल मिया केही महिनाअघि मात्र वैदेशिक रोजगारीबाट आएका थिए । तत्कालै रकम नदिए मुद्दामामिला गर्छु भनेपछि उनले यसबारे पतिलाई सोधिन् । समसुलले आफूले त्यस्तो काम नगरेको जनाए तर उनले पत्याइनन् ।
मोलमोलाइ गर्दै जादा २ लाख रुपैयाँमा कुरो मिल्यो । पतिलाई जोगाउन भन्दै गुलेसाले मंसिर १० मा १ लाख रुपैयाँ रुविनालाई बुझाइन् । तर, यही कुराले घरझगडा सुरु भयो । पति समसुलले आफूले बलात्कार नगरेकाले ‘किन पैसा दिएको ?’ भनेर गुलेसालाई गाली गर्न थालेपछि विवाद बढ्दै गयो । त्यतिबेलासम्म रुविनाले थप १ लाख रुपैया माग गर्न थालिन् । यता समसुलले पनि धार्मिक विधिअनुसार कसम खादै आफूले बलात्कार नगरेको, यदि पुष्टि भए सजाय भोग्ने अड्डी लिए ।
त्यसपछि दम्पती प्रहरीको सम्पर्कमा पुगेका थिए । अनुसन्धानको क्रममा प्रहरीले गुलेसा ठगिएको प्रमाणहरू फेला पारेपछि रुविना र रहमानलाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाएको जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहका अनुसार ठगिएकी गुलेसाले जाहेरी दिएपछि प्रहरीले कल रेकर्डलगायत बिभिन्न कोणवाट अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा धम्क्याएर गुलेसाबाट एक लाख रुपैयाँ लिएको प्रमाण फेला परेको उनको भनाइ छ ।
प्रहरी निरीक्षक साहका अनुसार रुविनाले यसअघि पनि बैदेशिक रोजगारीबाट आएका युवाको घरपरिवारलाई यही तरिकाबाट ठग्दै आएको खुलेको छ । ती युवाको घरपरिवारका सदस्यलाई फोन गर्दैर् आफूलाई बलात्कार गरेको र रकम नदिए मुद्दा दर्ता गर्ने त्रास देखाई ठगी गर्दै आएको प्रहरीको भनाइ छ । यसअघि गाउसमाजमा पनि ठगीकै विषयमा पटकपटक सामाजिक पंचायतीबाट जोगिदै आएकी रुविनाबिरुद्ध यसपटक प्रहरीमा जाहेरी नै परेपछि उनी पक्राउ परेकी हुन् । उनीबाट ठगिनेहरू अहिले खुल्न थालेको र थप अनुसन्धानको प्रक्रिया अघि बढाईएको साहले बताए । ‘अन्य युवाहरू प्नि ठगिएको कुरा आएको छ, ती विषयमा पनि अनुसन्धान गर्देछौ,’ साहले भने । सम्भार : कान्तिपुर