
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यस क्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी दिए ।
किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।
गहुँ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् । ‘गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ,’ उपाध्यक्षय मण्डलले कान्तिपुरसँग भनिन्, ‘आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यस क्रममा कता लाग्यो के भयो थाहा भएन ।’
यस घटनाबारे अध्यक्षसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क भएन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएकाे बताउनुभयाे । ‘घटनापछि उहाँहरू आ–आफ्नो घरतिर लागेकाे भन्ने कुरा जानकारी आयो । यद्यपि उहाँहरूबाट प्रहरीमा कुनै जानकारी आएकाे छैन ।’