
मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिका लागि यदुकुमार विष्टले अर्का उम्मेदवार दिलीप गच्छदारलाई समर्थन गरेका छन्।विराटनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै विष्टले संस्थापन पक्षधर गच्छदारलाई समर्थन गरेका हुन्।
पत्रकार सम्मेलनमा विष्टले जिल्लामा कार्यगत एकताका लागि आफूले गच्छदारलाई समर्थन गर्ने भएका हुन्।
आइतबार सम्पन्न निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाउँदै विष्टले भने, ‘हामीलाई निर्वाचन धाँधली भएको थाहा थियो। बहिष्कार गर्न सक्थ्याैँ। तर बीपी कोइरालाको अनुसरण गर्दै बहिष्कारको बाटो त्यागेर निर्वाचनलाई रोजेका छाँै।’ पत्रकार सम्मेलनका क्रममा जिल्लामा कांग्रेस डनवाद र धनवादबाट चलेको आरोप विष्टले लगाए। माफियाको रकम गाउँगाउँ पुगिरहँदासमेत सबैलाई उनले जारी निर्वाचनमा कांग्रेसको उज्ज्वल भविष्यका लागि गच्छदारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, सभापतिका अर्का उम्मेदवार गच्छदारले पछिल्लो समय जिल्लामा पार्टीको अवस्था कमजोर भएको बताए। पार्टीभित्र देखिएको विकृति विसंगतिविरुद्ध आफूहरू एक भएको जानकारी दिँदै उनले जारी निर्वाचन धाँधलीपूर्ण भएको बताएका थिए। जिल्लामा पार्टी प्रक्रिया र पद्धतिअनुसार नचलेको बताउँदै उनले यस निर्वाचनबाट पार्टीलाई नयाँ शिराबाट अघि बढाउने विश्वास व्यक्त गरे।
हालको नतिजामा दोस्रो स्थानमा रहेका गच्छदारले निर्वाचनको नतिजाबाट विचलित नहुने बताए। उनले भने, ‘अहिलेको अवस्थाबाट जिल्लामा पार्टी चल्न सक्दैन। आइतबार सम्पन्न निर्वाचनमा खोट देखिए पनि अब हुने स्वच्छ तवरको निर्वाचनबाट भाग्दैनाैँ।’
पत्रकार सम्मेलनमा गच्छदारलाई समर्थन गर्दै विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीले भने, ‘पार्टी कमजोर भएको छ। अब चुप लागेर बस्नु हुँदैन। संगठित रूपमा परिवर्तन गर्न निर्वाचनमा होमिएका छाैँ। लामो समयको छलफलपछि परिवर्तनका धार सबैले गच्छदारलाई समर्थन गर्न सहमत भएका छाैँ।’
पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेता रमेशजंग रायमाझी, प्रदेश सभा सदस्य शेखरचन्द्र थापा, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकाललगायत सहभागी थिए।
जिल्लाको सभापतिका लागि आइतबार भएको निर्वाचनमा विष्ट ५ सय ६३ मतसहित तेस्रो स्थानमा थिए। त्यसैगरी, निर्वाचनमा गच्छदार १ हजार १ सय ६६ मतसहित दोस्रो स्थानमा छन् भने संस्थापन इतरका डिगबहादुर लिम्बू १ हजार ५ सय ४४ मतसहित पहिलो स्थानमा छन्।