
जिल्ला कारागार मोरङमा १ कैदीको मृत्यु भएको छ ।
मोरंग – जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।
उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए ।
‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछि ल्याएका थियौं तर पुनः बिरामी भएपछि अस्पतालमा ७ः३० बजे मृत्यु भयो ।’
मृतकका परिवारले कारागार प्रशासनले उपचारमा ढिलाइ गरिदिँदा मृत्यु भएको आरोप लगाएका छन् । कारागारका कैदीबन्दीले समेत शर्माको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको बताएका छन् । एक कैदीबन्दीले के छ खबर सँग भने, ‘शर्माको अवस्था यहाँ नै चिन्ताजनक अवस्थामा थियो तर प्रशासनले एम्बुलेन्स मगाएको भन्दै घण्टा जति यहाँ नै खुला चौरमा राख्यो ।’
कारागार प्रशासनले भने एम्बुलेन्स आउन ढिला भएको जनाएको छ । शर्मा २०७१ सालमा जबरजस्तीकरणी मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।
कारागारभित्र नै केही दिनअघि जबरजस्तीकरणीमा ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको पनि मृत्यु भएको थियो । थापाका परिवारले हत्या भएको आरोप लगाएका थिए ।
गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर कारागारमा ल्याउने भनेपछि विराटनगर कारागार अशान्त बनिरहेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका अभिषेक गिरीलाई तेस्रोपटक मोरङ कारागार पठाउने निर्णय भएको छ । मोरङ कारागारमा केही दिनअघि सरुवापछि कैदीबन्दीले आन्दोलन गरेर सप्तरी पठाइएको थियो । सप्तरीबाट फेरि पनि मोरङ नै पठाउने भन्ने पत्र प्राप्त भएको निमित्त जेलर पोख्रेलले बताए ।
गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो । कैदीबन्दीले आन्दोलन गर्दै प्रवेश नदिएपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो । कारागार व्यवस्थापन विभागले शुक्रवार गिरीलाई मोरङ नै फर्काउने निर्णय गरेको छ ।