२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

गत शुक्रबार नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो सुनको अनुसन्धानमा नेपालगञ्जका तीन र काठमाडौंको एउटा सुन पसल परेका छन् । राजश्व अनुसन्धान कार्यालयले चारवटै सुन पसलबाट कागजात नियन्त्रणमा लिएको छ ।

झापाका अमिरलगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीले जुत्ताभित्र राखेर ल्याएको चार किलो २१.४९ ग्राम सुन विमानस्थलबाट बरामद भएपछि नेपालगञ्जका नेपाल ज्वेलर्स, नेपाल आभुषण भण्डार र सन्जीत ज्वेलर्स तथा काठमाडौंको बुद्ध ज्वेलरी वर्कसप प्रालि छानबिनको दायरामा परेका हुन् । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख सरोज पोखरेलले चारवटै सुन पसलबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । बुद्ध ज्वेलरी वर्कसपले आफ्ना कालीगढ विश्वकर्मा र खातीमार्फत नेपालगञ्जका तीन वटा सुन पसलका लागि सुन पठाएको दाबी गरेको छ । नेपालगञ्जका सुन पसलले पनि आवश्यक कागजात देखाएको बुझिएको छ ।

विमानस्थलबाट प्रहरीले सुन बरामद गरेपछि राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाएको थियो । राजश्व अनुसन्धान कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो– ‘सुन सक्कली हो । बेच्ने र लिनेको कागजात हेर्दैछौं ।’ वैधानिक सुन थियो भने जुत्ताभित्र लुकाएर किन ल्याउनु पर्‍यो ? राजश्व अनुसन्धान कार्यालयका कर्मचारीको प्रश्नमा विश्वकर्मा र खातीले आफूहरूले जहाँ पुर्‍याउन जाँदा पनि त्यसरी नै गोप्य तरिकाले लैजाने गरेको जवाफ दिएका छन् । उनीहरूका अनुसार, बैंकबाट सुन लिएर पसलमा आउँदा पनि त्यसरी नै जुत्ताभित्र राखेर ल्याइन्छ ।

कालीगढ भनिएका विश्वकर्मा र खातीको कुरालाई विश्वास मान्ने हो भने सुन ओसारपसार जुत्ताभित्र राखेर गरिँदोरहेछ । उनीहरूले बहुमूल्य भएकाले झोलामा राख्दा असुरक्षित हुने जवाफ दिएको बुझिएको छ । झोलामा राखेर काखमै राख्न पनि सकिन्थ्यो । बेच्ने र किन्नेहरूले बिल देखाउने प्रयास गरे पनि यो सुन काण्डमा धेरै प्रश्नहरू उब्जिएका छन् । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख पोखरेलले नेपालगञ्ज र काठमाडौंमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘काठमाडौंको सुन पसलले कहाँबाट कसरी ल्याएको थियो । त्यो पनि हेर्दैछौं, प्रमुख पोखरेलले भन्नुभयो, कालीगढ भनिएका विश्वकर्मा र खातीलाई म्याद थप गरेका छौं ।’ शुक्रबार साढे तीन बजे श्रीएयरमा नेपालगञ्ज विमानस्थलमा ओर्लिएका विश्वकर्माले दायाँ/बायाँ जुत्तामा दुई/दुई विस्कुट र खातीले लगाएको दायाँ/बायाँ जुत्ताको तलुवामा एक÷एक पिस बिस्कुट गरी तीन किलो ९ सय ९४ ग्राम सुन र खातीले बोेकेको लेदरको कालो रंगको झोलामा तिलहरी एक थान, बाला एक थान, गणेश लकेट ५ थान गरी २७.४९ ग्राम सुन राखेका थिए ।

चाइनाबाट नेपाल भित्रिने सुन भारतमा पुग्ने गरेको बताइन्छ । नेपालगञ्ज सीमावर्ती शहर भएको र यो नाकामा सधैं भीडभाड हुने भएकाले तस्करको नजरमा यो नाका सहज मानिन्छ । विगतमा यो नाकाबाट भारतमा प्रवेश गरेका व्यक्तिको जुत्तामा पाँच किलो सुन एसएसबीले बरामद गरेकाले पनि तस्करी हुन्छ भन्ने कुरामा बल पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]