
सप्तरी – ईलाका प्रहरी कार्यालय कल्याणपुरले विहीबार भारी परिमाणको गाँजाको बोट र घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्लाको खडक नगरपालिका वडा नम्बर ८ स्थित पहाडी भदियाबाट प्रहरीले भारी परिमाणको गाँजाको बोट फडानी तथा घरेलु मदिरा नष्ट गरेको हो । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा खटिएको टोलीले लागु पदार्थ गाँजाको बोट ५० थान फडानी गरी नष्ट गर्नुका साथै सोही ठाउँबाट अवैध रुपमा उत्पादन गरिदै आएको ५ हजार लिटर घरेलु मदिरा समेत बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
पहाडी भदियामा बिभिन्न घरधुरीबाट ४०/५० बोट गाँजा फडानी गरिएको र त्यहाँका मानिसहरुको घरमा अबैंध रुपमा लुकिछिपी संचालन गरिरहेको रक्सी भट्टीहरुबाट घरेलु मदिरा तथा कच्चा पदार्थ ५ हजार लिटर सोही स्थानमा स्थानिय मानिस तथा भद्र, भलाद्मीहरुको रोहबरमा नस्ट गरिएको छ” प्रहरी निरीक्षक साहले भने । उनले घरेलु मदिरा बनाउने कच्चा पदार्थ सक्कर लगायतका पदार्थहरु १ हजार किलोग्राम, र घरेलु मदिरा बनाउने २ सय लिटरको पानी ट्याङकी १ थान, प्लास्टिकको भाँडा ६ थान, अलमुनियमको हन्डी ३ थान र अलमुनियमको डेक्ची १ थान बरामद गरी नियन्त्रणमा लिईएको बताए ।