
स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी पक्राउ परेका छन् । पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाए ।
पौडेलले नक्कली सेनिटाइजरलाई विभिन्न कम्पनीको लेबल लगाएर बेच्ने गरेको प्रहरीको भनाइ छ । उनलाई कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।