
विराटनगर – मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालका चिकित्सक र हेल्थ असिस्टेन्ट (एचए)माथि सोमबार राति आक्रमण भएको छ ।
आकस्मिक कक्षमा ल्याइएका दुर्घटनाका घाइतेको उपचार गरिरहेका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि राति ८:३० बजेतिर आक्रमण भएको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए । उनका अनुसार आक्रमणबाट दुवै जनाको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवैजनाको विराटमै उपचार भइरहेको छ । बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका दुवै जनामाथि लगातार लात्ता र मुक्का प्रहार गरिएको हो ।
चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालमा भागदौड मच्चिएको थियो । आकस्मिक कक्ष केही बेर तनावपूर्ण बनेको देवले बताए । उनका अनुसार अवस्था तनावग्रस्त बनेपछि केही बेर उपचारसमेत प्रभावित बनेको थियो । प्रहरीका अनुसार आक्रमण भएका बेला दुवै जना दुर्घटनामा परेर ल्याइएका दुई घाइतेको उपचारमा व्यस्त थिए । प्रहरीका अनुसार कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा–३ मा प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७:४५ बजेतिर ठक्कर दिएपछि घाइते भएका ५० वर्षीय बालकुमार बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो । दुर्घटनाका घाइते बस्नेतको राति ९ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जानकारी डीएसपी राईले दिए ।
उनका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका थिए । उनको विराटमै उपचार भइरहेको छ । आक्रमण र कुटपिट सुरु हुनुभन्दा केही बेरअघि मात्रै बूढीगंगा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । मधुमेहको पुरानै समस्या रहेकी उनी थप बिरामी परेपछि परिवारका सदस्य र आफन्तले उपचारका लागि ल्याएका हुन् । उनको उपचारमा ढिलाई गरिएको भन्दै चिकित्सक र हेल्थ असिस्टेन्टमाथि आक्रमण गरिएको जानकारी अस्पतालले दिएको छ । आक्रमणमा संलग्न समूहले त्यसअघि अस्पतालका सुरक्षा गार्डसँग पनि वादविवाद गरेको थियो । त्यसपछि होहल्ला गर्दै भित्र छिरेको समूहले घटना गराएको हो ।
‘अस्पताल ल्याउने वित्तिकै वृद्धाको उपचार नथालिएको भनेर सुरुमा सुरक्षा गार्डसँग विवाद गरेका थिए । सम्झाईबुझाई गरेर पठाएपछि होहल्ला गर्दै आकस्मिक कक्षभित्र छिरेर चिकित्सकमाथि आक्रमण सुरु गरे,’ देवले भने, ‘वृद्धलाई उपचारका लागि ल्याउँदा चिकित्सक र स्वास्थ्यकर्मी भने दुर्घटनामा परेका गम्भीर घाइतेको उपचारमा व्यस्त थिए । अरु सिकिस्त बिरामीको चाप पनि अस्पतालमा उत्तिकै थयो ।’ सामान्य अवस्थाकी वृद्धाको उपचारमा पाँच मिनेटजति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिएका चिकित्सकमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरिसकेको छ । डीएसपी राईका अनुसार घटनामा संलग्न नगेन्द्र श्रेष्ठ लगायतका केही व्यक्ति अझै फरार छन् । फरार रहेकाहरुको खोजी गर्दै घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।