
रौतहटमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज बिहान दुवैजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र दुर्गा भगवती गाउँपालिका ७ का ५० बर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बुधबार पनि वीरगंज स्थित नारायणी अस्पतालमा रौतहटका २ जना संक्रमितको मृत्यु भएको थियो । यो सँगै दोश्रो लहरमा रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लो केहिदिन देखि जिल्लामा संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ । बिहीबार बिहान सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या २१५ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाको तीन स्थानमा अस्पताल संचालन गरिएको छ ।
सीडीओ यादवका अनुसार जिल्ला अस्पताल गौरमा अक्सिजन सहित १५ बेडको एचडियु,आईसियु र चारवटा भेन्टिलेटर सहितको कोभिड अस्पताल संचालन गरिएको छ भने गौर नर्सिङ क्याम्पसमा १० बेड र चन्द्रपुरमा ४६ बेडको कोभिड अस्पताल मंगलबार देखि संचालनमा आएको छ ।