
काठमाडौं – ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा ४८ वर्षीय मोहन राजभण्डारी पक्राउ परेका छन्। उनीहरू नाताले देवर-भाउजू रहेकाे जनाइएकाे छ। प्रहरीले मोहनलाई शनिबार साँझ पक्राउ गरेको हो।
काठमाडौंको बुलबुले मार्गस्थित सडकमा मोहनले फलामको रडले टाउकोमा प्रहार गर्दा रोशनी गम्भीर घाइते भएकी थिइन्। तरकारी किन्न पसल पुगेकी रोशनीसँग मोहनको भनाभन भएको प्रत्यक्षदर्शीको भनाइ छ। त्यहीक्रममा मोहनले भाउजूलाई लखेटेर रड प्रहार गरेका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।
भाउजूको हत्यापछि आत्मसमर्पण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुँदा मोहनलाई नियन्त्रणमा लिइएको हो। देवर-भाउजूबीच पहिल्यैदेखि विवाद हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।