
सप्तरी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिड हुने गतिविधि रोक्न आग्रह गरेको छ ।
बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।
त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए । मन्त्रालयले संघ अन्तर्गतका प्रादेशिक अस्पताल, संघीय अस्पताल तथा सबै आधारभूत अस्पतालमा कोभिड–१९ को उपचार गर्ने व्यवस्थापन गर्ने त्यसको शोध भर्ना गरिने जनाएको छ ।
बैठकले प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाइएको रकमबारे हरेक प्रदेशले प्रतिवेदन पठाउने र आवश्यकता अनुसार थप रकम माग गर्न सक्ने निर्णय गरेको छ । साथै निकासा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्राललाई पत्राचार गर्ने भनिएको छ ।