
इजरायलका एफ–१५ लडाकू विमानहरूले आफ्नो हवाईक्षेत्रमा अमेरिकाका दुईवटा बी–५२ बमवर्षक विमानलाई उडानमा साथ दिएको इजरायलका रक्षा बलहरूले एक ट्वीटमार्फत जानकारी दिएका छन् ।
यो रणनीतिक उडान इजरायली तथा मध्यपूर्वी आकाशको सुरक्षा कायम राख्न महत्त्वपूर्ण रहेको इजरायली सेनाको भनाइ छ । उसले इरानलाई लक्षित गर्दै यो गतिविधि गरेको भनी स्पष्ट बताएन तर उक्त क्षेत्रमा तनावहरू चर्किएको स्थितिमा यो उडान इरानलाई शक्तिप्रदर्शन गर्नका लागि गरिएको प्रबल सम्भावना छ । उता इरानका रक्षामन्त्री अमिर हतामीले इरानमाथि इजरायलले आक्रमणको प्रयास गरेमा तेल अभिभ र हाइफालाई धूलिसात् बनाउने बताए । गत साता इजरायलका रक्षामन्त्री बेन्नी गान्जले इरानभित्र अनेकौं लक्ष्यहरूलाई तेल अभिभले पहिचान गरेको र त्यस विनाशले इरानलाई आणविक हतियार निर्माणको क्षमतामा नराम्रो आघात पुर्याउने बताए ।
इरानले आमविनाशकारी हतियार बनाइरहेको आरोप इजरायलले लगाएको छ तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ । आफ्नो आणविक गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको इरानको भनाइ छ ।