
सप्तरी – बाजुरा जिल्ला र अछामको साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुराको बडीमालिका नगरपालिकाको जडांग नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सडक डिभिजन कार्यालय साँफेबगरले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि एक करोड ८८ लाखको ठेक्का लगाएकोमा एमएसएमके बिल्डर्स एन्ड कन्स्ट्रक्सन कम्पनीले पाएको ठेक्काको काम करिब सकिएको निर्माण कम्पनीका ठेकेदार चक्र शाहले बताए ।
बेलिब्रिज निर्माण सम्झौता माघ महिनाको मसान्तसम्ममा सकिने सडक डिभिजन प्रमुख ललित खनालले बताए । सम्झौताअनुसार समयसीमाभित्रै काम सम्पन्न हुने चरणमा पुुगेको सडक डिभिजन कार्यालय प्रमुख खनालले जानकारी दिए ।
गत २५ साउनको राति आएको अविरल वर्षासँगै आएको बाढीले बेलिब्रिज र झोलुंगेपुल बगाएको थियो । बाढीले बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्कविहीन भएको थियो । पुरानै बगाएको ठाउँमा बेलिब्रिज निर्माण सुरु गरेको सडक डिभिजन कार्यालय प्रमुख खनालले बताए ।
बेलिब्रिज बगाएपछि सोही स्थानमा नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवत–जावत गर्ने बनाइएको थियो । बाढीले पुल बगाएपछि जिल्ला सदरमुकाम मार्तडीलगायतका पूर्वी उत्तरी भेगका मानिसहरूलाई आवागमन गर्न निकै समस्या भएको थियो ।