सप्तरी – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध धनुषामा पनि वृहत प्रदर्शन गरेको छ ।संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिवार पूर्व निर्धारित कार्यक्रम अनुसार देशका सबै निर्वाचन क्षेत्रहरुमा धनुषामा समेत प्रदर्शन गरेको हो ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजित नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको आरोप लगाउँदै ओली विरुद्व नाराबाजी गरेका थियो ।जनकपुरधामको पिडरिया माई थानस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रिय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजा गोइत,२ को (ख) मा केन्द्रीय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्य रामसरोज यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो ।त्यस्तै निर्वाचन क्षेत्र नं ३ को (ख) मा केन्द्रीय सदस्य मिनाक्षी झा एवं क्षेत्रिय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार बासुलाल महतो एवं ४ को (ख) मा केन्द्रीय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएका हुन् ।र्यालीमा सहभागीहरुले प्रतिनिधि सभा पुनस्र्थापित गर, प्रतिगमनकारी ओली मुर्दावाद, लोकतान्त्रिक शक्ति जिन्दावाद लगायतका नारा लगाएका थिए ।