सप्तरी – नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले दाहाल-नेपाल समूहका नेता एव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही सिफारिस गरेको छ ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावलसहित तीन जनालाई कारबाहीको सिफारिस गरेको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।’पार्टीको ३० लाख रकम अपचलन गरेको भएर पार्टी विधान बमोजिम भीम रावललाई प्रदेश इन्चार्जबाट हटाउन केन्द्रमा सिफारिस गरेका छौं । उहाँसँगै प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई सचिव पदबाट हटाउन पनि सिफारिस गरेका छौं,’ प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले भने । पार्टी सम्पत्तिको हिनामिना गरेको भएर पार्टी विधान बमोजिम रावल, सुवेदी र चौधरीलाई कारबाही गरिएको थापाले बताए ।दाहाल–नेपाल समूहको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष थापासहित केही नेतालाई कारबाही गरेको थियो । तर यो निर्णयलाई आफूहरुले खारेज गरेको अध्यक्ष थापाले बताए ।
विधानमा अध्यक्षको निर्देशन र सहमतिमा मात्रै बैठक बस्ने व्यवस्था रहेको तर आफ्नो सहमति विपरित बसेको दाहाल–नेपाल समूहको बैठक आधिकारिक नभएको थापाको भनाइ छ ।