सप्तरी – कोरोना भाइरस संक्रमणले महामारीको रुप लिइरहेका बेला बायु प्रदुषणको डर लाग्दो जोखिम बढेको छ । नेपालका दुई ठूला शहर काठमाण्डु र विराटनगरमा वायु प्रदुषण उच्च रहेको तथ्यांकले बताएको छ । सरकारले काठमाण्डु उपत्यका र विराटनगर उपमहानगरपालिकामा वायु प्रदुषण उच्च रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदुषणको मात्रा केही दिन अझै जारी रहने भएकाले मर्निङवाकमा नजान पनि आग्रह गर्दै आएको छ ।शहरी क्षेत्रको वायु प्रदुषण, कलकारखानाबाट निस्कने धुवाँधुलो, सवारी साधनको चाप तिव्र, चिसो मौसममा बढी आगो बाल्ने र त्यसबाट निस्कने धुवाँ तथा भान्छाबाट निस्कने घरभित्रको धुवाँका कारण वायु प्रदुषण उच्च बन्दै गएको छ ।अनुसन्धानकर्ताहरुले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वासको समस्या भएका र दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताएका छन् । ‘स्टेट अफ ग्लोबल–२०२०’ प्रतिवेदनले भनेको छ, ‘लामो समयसम्म प्रदूषित वायुसँगको सम्पर्कले निम्त्याउने स्वास्थ्य अवस्था, मधुमेह तथा मुटु र श्वासप्रश्वाससँग सम्बन्धित रोगको जोखिम कोभिड–१९ महामारीसँग जोडिँदा थप जटिल हुन्छ ।’उक्त प्रतिवेदनले वायु प्रदूषण यस क्षेत्रमा सबै प्रमुख मृत्युदरका लागि चौथो सबैभन्दा ठूलो जोखिम कारक भएको देखाएको छ । उच्च रक्तचाप, चुरोट, सूर्ती सेवन तथा न्यून पोषण यो क्षेत्रका मानिसहरुको उच्च मृत्युदरका लागि मुख्य तीन कारक हुन् । जनस्वास्थ्य विज्ञहरुका अनुसार नेपालमा पछिल्लो समय कोरोना संक्रमणका जोखिम घट्दै गएपनि वायु प्रदुषणबाट हुने असर बढेको छ ।वायु प्रदूषणका कारण विश्वभरिमा वार्षिक ६७ लाख मानिसको ज्यान जाने गरेको र त्यसमध्ये २१ लाख दक्षिण एशियामा रहेको प्रतिवेदनले औंल्याएको छ । नेपाल संसारको सबैभन्दा धेरै वायु प्रदुषण भएको मुलुकमा पर्दछ । ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ ।अमेरिकाको बोस्टनस्थित हेल्थ इफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेल्ट्रिक्स एण्ड इभालुएसनका अनुसार वायु प्रदूषण र कोभिड–१९ दुवैले मानिसको श्वास प्रश्वासको प्रणालीलाई प्रभावित गर्छ र निमोनियातर्फ लैजान्छ । पहिलेदेखि नै मुटु र फोक्सोसँग सम्बन्धित रोगीहरुलाई कोरोनाभाइरसको संक्रमणको जोखिम अधिक हुन्छ । संक्रमणको जोखिम मात्र होइन, संक्रमण भइहाले ति मानिसहरुको स्वास्थ्य पनि निकै जटिल बन्ने गर्छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २ लाख ६३ हजार नाघेको छ भने मृतकको संख्या १९ सय पुगेको छ । कोभिड–१९ बाट मृत्यु भएकामध्ये १५ प्रतिशतको मृत्यु हुनुको मुख्य कारण वायु प्रदुषण रहेको पाइएको छ ।चिसोको मौसमसँगै वृद्धि हुने फ्लुका कारण यस्तो जोखिम अझ बढ्ने विज्ञहरु बताउँछन् । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाण्डु उपत्यकाका लागि खतरनाक रहेको छ । ४ दिनयता उपत्यकाको आकाशमा उडिरहेको प्रदूषित हावाले स्वास्थ्यमा निकै असर पर्ने श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा. अषेश ढुङ्गानाले बताए ।उनले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाण्डु उपत्यकाको स्थिति भयावह हुने बताए । काठमाण्डुमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । बुधबारदेखि घाम लागेपछि प्रदुषणको खतरा भने नटरेको डा ढुंगानाले बताए ।‘मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै ठप्प भएर निस्कन पाएको छैन । त्यसमा आगो बाल्दा निस्किएको धुँवा, डढेलो, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण र सवारी साधनको उत्सर्जन थपिएपछि काठमाण्डु उपत्यकाको वायुको गुणस्तर असाध्यै खतराको तहमा पुगेको छ,’ उनले भने ।चिसो महीनामा वायु प्रदूषण झन् बढ्ने र भाइरसको विस्तार तीव्र हुने अनुमान छ । यद्यपि, वायु प्रदूषण र कोभिड–१९ को पूर्ण सम्बन्धबारे अहिलेसम्म प्रष्ट जानकारी छैन । तर पनि, वायु प्रदूषण तथा बढ्दो मुटु र फोक्सोसम्बन्धी रोगबीच गहिरो सम्बन्ध भएको प्रष्ट छ । पछिल्लो समयमा दक्षिणएशियाको सबैभन्दा बढी वायु प्रदूषित क्षेत्रमा कोभिड–१९ को असर निकै बढ्न सक्ने आकलन गरिएको छ ।हेल्थ इफेक्ट्स इन्स्टिच्युटकी वायुको गुणस्तरसम्बन्धी विज्ञ पल्लवी पन्तले भनिन्, ‘वायु प्रदूषणले व्यक्तिको प्रतिरक्षा प्रणालीमा असर गर्दै निमोनियाजस्तो श्वासप्रश्वाससँग सम्बन्धित जटिलता निम्त्याउने देखाएको छ । मुटु र फोक्सोका बिरामीहरुलाई कोरोनाभाइरसले छिटो र गम्भीर रुपमा असर पुर्याउँछ ।’अनुसन्धानकर्ताहरुका अनुसार उच्च वायु प्रदूषण भएको क्षेत्रमा बस्ने मानिसलाई कोभिड–१९ संक्रमण भएमा स्वास्थ्य निकै प्रतिकूल र जटिल बन्ने जोखिम हुन्छ । वायुको गुणस्तरका विषयमा पर्याप्त चिन्ता र सचेतना देखिए पनि सरकारको तर्फबाट वायु प्रदूषण रोकथाम र नियन्त्रणका लागि गम्भीर पहल भएको देखिंदैन ।
वायु प्रदूषणको नियन्त्रणका लागि पनि कुनै खास निर्णय गरिएको छैन । नेपालसहित केही देशहरुमा पछिल्ला वर्षहरुमा गरिएका केही प्रयासका कारण वायु प्रदूषणको स्तरमा केही सुधार आएको तर दक्षिणएशिया र अफ्रिकाका उच्च वायु प्रदूषण भएका अरु देशहरुमा खासै परिवर्तन भएका छैनन् । हाल दक्षिण एशिया र अफ्रिकाका देशहरु वयु प्रदुषणको ठूलो मारमा छन् ।