सप्तरी – नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले मानवसेवा आश्रमलाई वार्षिक एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्ला सभापति पौडेलले मानवसेवा आश्रम लमजुङलाई वार्षिक एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मानवसेवा आश्रम लमजुङद्धारा सडक मानवको उद्धारका निम्ति ‘मेची–महाकाली यात्राको’ टोलीको स्वागत कार्यक्रममा सभापति पौैडेलले आफुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने बताएका हुन् ।
उनले भने बेसहारा व्यक्तिलाई सहारा दिँदै आएको आश्रमको कार्यलाई उच्च सम्मान गर्दै मानवीय सेवालाई थप सहज बनाउन वार्षिक एक लाख सहयोग गर्नेछु । ०७३ चैत १२ गते स्थापना भएको यस आश्रमले जिल्लालाई छिट्टै बेवारिसे सडक मानव मुक्त जिल्ला बनाउने अभियानमा लागेको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् ।
पुस ७ गतेदेखि सुुरु भएको मेची महाकाली अभियान अन्तर्गत लमजुङ आएको टोलीले सोमबार जिल्लाको विभिन्न स्थानबाट चार जना बेवारिसेको उद्धार गरेको छ ।
टोलीले बेसीशहर शेराबाट दुई जना, चिप्लेटीबाट एक र सुन्दरबजार नगरपालिका ९ भोटेओडार बँगैचाबाट एक जनाको उद्धार गरेको हो । उद्धार गरिएका चारै जनालाई मानवसेवा आश्रम लमजुङमा राखिएको छ । हाल आश्रममा १० जना महिला, १३ जना पुरुष र पाँच जना बालबालिका गरी २८ जनाले आश्रय लिइरहेका छन् ।