सप्तरी – सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका छन् ।
जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले आगामी चुनावमा प्रचण्ड–माधव समूहसँग सहकार्य गरेर जाने दाबी गरे ।‘आगामी निर्वाचमा जाँदा नेकपाका दुवै समूहभित्र कुनै न कुनै सहमती र सहकार्य हुन्छ । त्यो आवश्यकता पनि हो,’ मन्त्री थापाले भने, ‘चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन ।’उनले थपे, ‘तर, अहिले विभिन्न देशी विदेशी शक्तिहरुको चलखेलले नेकपालाई बचाउन नसकेको परिस्थिति हो । अर्को निर्वाचन आउँदासम्म परिस्थिति फेरिन सक्छ ।’मन्त्री थापाले प्रधानमन्त्री केपी शार्मा ओलीले संसद विघटन र चुनाव घोषणा गरेर देशलाई अस्थिरताबाट बचाएको बताए । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनतामाझ चुनावमा जानुका विकल्प नरहेको बताए ।‘ताजा जनमतका लागि चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘सरकार वा प्रणाली संकटमा परे जनतामाझ जाने राजनीति शास्त्रको सिद्धान्त छ । प्रधानमन्त्रीज्यूको कदम अग्रगामी छ ।’
नेकपा ओली समूहको कर्णाली प्रदेश संयोजक समेत रहेका मन्त्री थापाले तत्काल प्रदेश सरकार विघटनको बारेमा सरकारले नसोचेको बताए । ‘अझै पार्टी एकता भंग भएको घोषणा भएको छैन । भंग भए के हुन्छ भन्न सकिन्न ।’ उनले भने ।