सप्तरी – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।
विमास्थलबाट समातिएका झापाको मेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई हातहतियार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले अदालत लगेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार श्री एयरलाइन्सबाट झापाको भद्रपुर विमानस्थल जान लाग्दा उनी पक्राउ परेका थिए । र, थप कानुनी कारबाही र अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको थियो ।गौशाला प्रहरीले राईलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐनअनुसार म्याद थप गर्नका लागि जिल्ला अदालत, काठमाडौंमा लगेको हो । गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेत भन्छन्, ‘कानुनी प्रक्रिया अघि बढाउन म्याद थपका लागि अदालत उपस्थित गराइसकेका छौं ।’सोमबार विमानस्थलमा नियमित चेकजाँचका क्रममा राईको लगेजभित्र रहेको ज्याकेटमा ९ एमएम पेस्तोलमा लाग्ने ५० राउण्ड गोली भेटिएको थियो । राई आमा मुनादेवीसँग झापा जान लागेका थिए ।पक्राउ परेपछि राईले झोलामा गोली भएको आफूलाई थाहा नभएको बताएका छन् । प्रहरीका अनुसार राई अवकाश प्राप्त प्रहरी नायब निरीक्षक (सई) रामचन्द्रका छोरा हुन् । बुबाले नै ज्याकेट ल्याइदिनु भनेपछि लगेको छोराको बयान छ ।
बहालवाला प्रहरी अधिकारीले समेत त्यति ठूलो संख्यामा गोली बोक्दैनन् । पूर्वप्रहरीले राख्नु गैरकानुनी नै हो । ‘छोराको भनाइ अनुसार बुबाले गोली राखेको हो कि भन्ने देखिन्छ, उनले किन राखे भन्ने विषयमा पनि छानविन गरिररहेका छौं’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।