सप्तरी – वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले र पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।
लागूऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो, काठमाण्डौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।लाल पर्सा गाउँजाने बाटो सडक किनारमा शंकास्पद अवस्थामा रोकी राखेको ना. ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
ट्रकको मालसमान राख्ने ठाँउमा कालो त्रिपालले छोपेर लुकाइ राखेको अवस्थामा ७ पोका लागूऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए ।उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।