
सप्तरी- जब राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय चुनावमा पराजित भएमा आफू शक्ति हस्तान्तरणका लागि प्रतिबद्ध नरहेको बताए, मेरा धेरै अमेरिकन साथीजस्तै म पनि स्तब्ध भएँ । र, यो कुरा उनले अक्टोबरमा सार्वजनिक गरेका थिए, जतिवेला हरेकजसो मतसर्वेक्षणमा उनी जोसेफ आर बाइडेनभन्दा पछि देखिँदै थिए ।
त्यसपछि, अवस्थालाई झनै बिगार्दै, उताह राज्यका सिनेटर माइक ली (उनी सिनेट न्यायिक समितिमा रहेका एक रिपब्लिकन हुन्) ले ट्विट गरे, ‘प्रजातन्त्र उद्देश्य होइन, स्वतन्त्रता, शान्ति र सम्पन्नता हो । हामी मानवजीवनलाई अझै उन्नत बनाउन चाहन्छौँ । पूर्ण प्रजातन्त्रले त्यसलाई विफल पार्न सक्छ ।’ पूर्ण प्रजातन्त्र ? यस्तो घोषणाका लागि माइक लीलाई एक कुरामा धन्यवाद दिए हुन्छ, कम्तीमा एकजना रिपब्लिकन राजनीतिज्ञले आफ्नो अभिप्रायलाई इमान्दारीका साथ व्यक्त गरे । र, त्यो हाम्रो देशको भाष्य र राष्ट्रिय बहसमा एउटा नयाँ घुम्ती हुन सक्थ्यो ।यदि अमेरिकामा शान्तिपूर्ण वा सहज सत्ता हस्तान्तरण हुन छाड्यो र सिनेटर लीजस्ता मान्छेले मौका पाए भने अमेरिकी जीवन र अमेरिकाप्रतिको धारणा सधैँका लागि बदलिनेछ । यदि हामी अमेरिकीले प्रजातन्त्रलाई उपेक्षा गर्र्यौँ भने लोकप्रिय जनप्रतिनिधित्वको संरक्षक र मानव अधिकारप्रतिको हाम्रो पहिचान सधैँका लागि परिवर्तन हुनेछ ।एक वर्षअगाडि, मैले मेरो पुस्तक ‘पिपुल, पावर, एन्ड प्रोफिट : प्रोग्रेसिभ क्यापिटालिजम फर एन एज अफ डिस्कन्टेन्ट’मा रिपब्लिक पार्टीले सामना गरिरहेको संकटापन्न स्थितिलाई चर्चा गरेको छु । पार्टीले बहुसंख्यक अमेरिकनले विरोध गरेका नीतिको वकालत गर्ने गरेको छ ।
धेरै अमेरिकीले मान्ने सबैको पहुँचको स्वास्थ्य, सर्वसुलभ शिक्षा, न्यूनतम ज्यालाको वृद्धि, कसिलो बन्दुक कानुन आदि अन्य कुराहरूमा रिपब्लिकनले विरोध गर्ने गरेको छ । यस्तोमा रिपब्लिकन पार्टीले शक्तिमा बसिरहन अप्रजातान्त्रिक नीति मात्र उपयुक्त देखेको हुनुपर्छ । त्यस नीतिअन्तर्गत रिपब्लिकनले भोटर सप्रेसन (मतदातालाई मत हाल्न अवरोध पुर्याउने), निर्वाचत क्षेत्रलाई आफूअनुकूल पुनर्संरचना गर्ने, सर्वोच्च अदालतमा आफ्नो पक्षधर न्यायाधीशले गर्ने काम गरिरहेको छ । यिनमार्फत रिपब्लिकनले भोलिका दिनमा कंग्रेसमा डमोक्रेटिकको बहुमत आउँदा र राष्ट्रपति डेमोक्रेटिक पार्टी हुँदा पनि अप्ठ्यारो पार्ने लक्ष्य राखेको देखिन्छ । रिपब्लिकनहरूका काम–कर्तव्य हामीले नियालेका छौँ । अहिले उनीहरू आफ्नो अभिप्राय अझै प्रस्टसँग बताउन थालेका छन् । अब हामीले कस्तो अमेरिका बनाउने विषयमा हाम्राबीचमा वास्तविक छलफल चलाउन ढिलो भइसक्यो । के हामी सिनेटर लीसँग सहमत छौँ ? यसको साध्य नै सबथोक हो ? साधन केही होइन ? तिनलाई पाउन हामी हाम्रो प्रजातन्त्र छाड्न तयार छौँ ? प्रजातन्त्रलाई त्यागेर के वास्तवमै हामी लक्ष्यमा पुग्छौँ ? खासमा, यस सम्बन्धमा हामीले इतिहासबाट धेरै पाठ सिक्न सक्छौँ । बितेका चार वर्षले हाम्रा संस्थाहरू कति नाजुक रहेछन् भन्ने शिक्षा दिएको छ । समानताको सुनिश्चितता गर्ने संस्था, राजनीतिक स्वतन्त्रताको प्रत्याभूत गर्ने संस्था र खुला प्रेसको संरक्षण गर्ने संस्था सधैँ निसानामा परे । २० वर्षअघि जब म विश्व बैंकको प्रमुख अर्थशास्त्री थिएँ, हामी विभिन्न देशहरूलाई गुणस्तरीय संस्थाको निर्माण गर्न पाठ पढाउँथ्यौँ, र त्यसवेला हामी अमेरिकालाई नमुना र उत्कृष्ट उदाहरणको रूपमा हेथ्र्र्याैँ । असल संस्था कस्ता हुन्छन् हामी ठोकुवा गर्ने अवस्थामा थिएनौँ, न हामी गुणस्तरीय संस्था निर्माण गर्ने सर्त प्रस्तुत गर्ने अवस्थामा थियौँ । तथापि राम्रा संस्थाको अभ्यास देख्दा यही हो भनेर भन्न सकिन्थ्यो ।असल संस्थाका मूल्य हुन्थे साथमा ती कानुन पालना गर्थे । उन्नत समाजमा दुवै हुन्छन्, एकातर्फ नियम आवश्यक हुन्छ भने ती समाजमा नागरिकले मूल्य/मान्यताप्रति सम्मान देखाउँछन् । हरेक ‘राम्रा व्यवहार’ भनिएका कुराहरू कानुनमा लिपिबद्ध गर्न सकिँदैन । विश्वको चरित्र एकदमै जटिल र परिवर्तनशील छ ।त्यसको केही समयपछि मैले एउटा अन्तर्राष्ट्रिय समूह ‘कमिसन अन द मिजरमेन्ट अफ इकोनोमी पर्फर्मेन्स एन्ड सोसल प्रोग्रेस’को प्रमुख बन्ने अवसर पाएको थिएँ । हाम्रो उद्देश्य नागरिकहरू सन्तुष्ट रहने स्वस्थ अर्थतन्त्रको आकलन गर्नु थियो । र, ती समाजलाई केले निर्माण गरिरहेको र जोगाइरहेको छ भन्नेबारेमा केलाउने पनि उल्लेख थियो । त्यस क्रममा हाम्रो ध्यान विगतमा बेवास्तामा परिरहेको एक पक्षमा गयो, विश्वासमा । नागरिकहरूको एक–अर्काप्रति गर्ने विश्वास र तिनले आफ्ना साझा संस्थाप्रति गर्ने विश्वास ।
र, जब म इन्डियाना राज्यको ग्यारीमा हुर्कंदै थिएँ, हामी स्कुलमा अमेरिकाको प्रजातन्त्रको बल, शक्ति सन्तुलनको हाम्रो व्यवस्था र कानुनी शासनबारे पढ्थ्यौँ । हामीले त्यस्तो प्रजातन्त्रको कुरा गर्यौँ जहाँ बहुसंख्यकको आवाज स्पष्ट सुनिन्थ्यो, तर अल्पसंख्यकको अधिकार पनि सम्मानित हुन्थ्यो । हामीले विश्वास वा संस्थागत कमजोरीको कुरा कहिल्यै गरेनौँ । यी विषयमा हामीलाई चिन्ता गर्नुपर्ने केही छैन भन्ने लाग्थ्यो । यसले त बनाना रिपब्लिकलाई मात्र असर पुर्याउने ठानिन्थ्यो ।हामी पैसाले राजनीतिक प्रक्रियालाई प्रभावित बनाउने देशलाई हेयपूर्ण रूपले हेथ्र्यौँ । त्यसवेलासम्म सिटिजन युनाइटेड्स भर्सेस फेडेरल इलेक्सन कमिसनजस्ता सर्वाेच्च अदालतको निर्णय आइसकेको थिएन, जसले अमेरिकी राजनीतिमा कर्पाेरेट पैसाको भूमिकालाई संस्थागत गरिदियो । र, राजनीतिक अल्पंख्यकले दमन गरेको र बहुसंख्यकको अधिकारको सम्मान नगरेको कुरा हामीले अमेरिकामा त्यसवेलासम्म सोच्न पनि सकेका थिएनौँ ।विगत चार वर्ष हामीकहाँ मूल्य–मान्यताविपरीत हिँड्ने राष्ट्रपति थिए, र उनैले हामीलाई मूल्य–मान्यताप्रति ढुक्क हुन नहुने पाठ पढाए । र, उनले विगत लामो समयदेखि कानुनमा नलेखीकनै अभ्यास भइरहेका केही अभ्यासलाई कानुनमै लेख्नुपर्ने चेतना दिए । लामो समयदेखि इन्स्पेक्टर जनरलप्रतिको सम्मान, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नपार्ने र ट्याक्स रिटर्न खुलासा गर्नुपर्ने अभ्यास थियो, जब कि यस सम्बन्धमा कानुन थिएन । मलाई आशा छ कि हाम्रो राष्ट्रिय बहसको यो निर्णायक बिन्दु देशको पनि महत्वपूर्ण मोड बन्नेछैन । राष्ट्रपति ट्रम्प र सिनेटर लीजस्ता प्रजातन्त्रलाई तिरस्कार गर्नेहरूको आवाज सुनिरहियो, हामी कता जानेछौँ भन्ने इतिहासले देखाइसकेको छ । हामीले त्यसको संकेत देखिसकेका छौँ । पोर्टल्यान्डबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई अपरिचित सुरक्षाकर्मीले कारमा उठाएर लगेको दृश्यले हिटलरको ब्लुसर्टको सम्झना दिलायो । त्यस्तै, राष्ट्रपतिले निर्वाचनको मतपरिणाम मान्दिनँ भन्नु उनले आफूलाई कानुनभन्दा माथि भनेको हो । यो उत्तिकै खतर्नाक छ ।मानिलिऊँ, अहिलेका अराजकताका बाबजुद हाम्रो प्रजातन्त्र बाँच्यो, यो महत्वपूर्ण बिन्दुले हामीलाई बिलकुल फरक दिशातिर लानेछ । हामीमाझ हाम्रो लोकतन्त्रलाई सुदृढ तुल्याउने कठिन काम गर्नुपर्ने कार्यभार छ । हामीले हाम्रो संरचनामा कमजोरी देखेका छौँ । हामीले हाम्रो राजनीतिमा पैसाको खतर्नाक आयाम देख्यौँ, जुन विश्वासको संकट ल्याउन र समाज थप असमान बनाउन प्रयोग हुन लागेको छ । यस प्रक्रियाले थप ध्रुवीकरण गराउनेछ र चेक एन्ड ब्यालेन्सको प्रणालीलाई अवरोध र भिडन्ततर्फ लानेछ ।हाम्रोमा जकडिएको जातीय र आर्थिक असमानताहरूविरुद्ध नलडीकन हामी विश्वास र सामाजिक मेल आर्जन गर्न सक्दैनौँ । यो बेमेलले हामीलाई अनिवार्य विभाजन गर्छ र यसले एकतामुखी लोकतन्त्रको मागलाई कमजोर तुल्याउँछ । हाम्रो प्रजातन्त्रलाई पुनर्संरचना गर्नु कठिन काम हुनेछ, तर यसले हामीलाई उकास्नेछ ।प्रजातन्त्र भनेको प्रत्येक चार वर्षमा आउने चुनावभन्दा बढी कुरा हो । सफल प्रजातन्त्रमा बृहत्तर नागरिक अन्तरक्रिया र कैयौँ नागरिक–सामाजिक संस्थान हुन्छन्, र सामूहिक कार्य सरकारले मात्र गर्ने कामलाई जनाउँदैन । यसले निजत्व र स्वतन्त्रतालाई नास गर्दैन, बरु त्यसलाई अझै बलियो र उन्नत बनाउन मद्दत पुर्याउँछ ।
हामी प्रजातान्त्रिक अधिकारको अन्त्यको किनारामै आएका छौँ, हामीले तलतिर चिहायौँ, त्यसमुनि के छ भनेर सोचमग्न भयौँ र त्यहाँको डरलाग्दो दृश्यले हामीलाई हाम्रो लोकतन्त्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने राष्ट्रिय एकतालाई गति प्रदान गरेको हुन सक्छ ।