सप्तरी – भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चौथोपटक थपिएको अवधि सकिएपछि फेरि थप्ने तयारी भएको छ । म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो ।
चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा चौथोपटक थपिएको अवधिमा पनि विमानस्थल पूरा हुन नसकेको हो । चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको समयावधि पाएको थियो ।तर निर्माण सम्पन्न नहुने देखेपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । चौथोपटकको म्याद सकिए पनि निर्माणस्थलको काम भने निरन्तर अगाडि बढेको छ ।
विमानस्थलको आईसीपी १ को शिलान्यास २०१५ जनवरीमा भएको थियो । २०१८ जुन ८ मा सक्नेगरी सम्झौता भए पनि विभिन्न कारणले आयोजनाको म्याद थपिँदै गएको छ ।विमानस्थलको हालसम्मको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।