
राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनप्रति चिन्ता
सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टी भित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दुखद् भएको बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको सातौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले सत्तारुढ दलसँग वहुमत भएपनि संसद विघटन हुनु राम्रो नभएको बताए । उनले प्रतिपक्षी दलको समस्याका कारण नभई सत्तारुढ दल भित्रकै आन्तरिक द्वन्द्वको प्रभाव जनप्रतिनिधिमुलक संस्थामा पर्नु राम्रो नभएको बताए ।
उनले भने, “पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित जनप्रतिनिधि संस्था प्रतिनिधिसभा शहिद हुन पुग्यो । दलभित्रको आन्तरिक अन्तरविरोध गएर जनप्रतिनिधी संस्थामा असर पर्नु राम्रो ,सुखद अनुभूति भएको छैन । प्रतिनिधिसभा विघटन हुनु उचित छ कि छैन ? त्यो बहसको विषय बनेको छ । अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन । प्रतिपक्षीले समस्या उत्पन्न गरेर विघटन हुनु परेको स्थिति पनि होइन । हाम्रो आन्तरिक कारण र आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन गर्नुपर्ने स्थिति भयो । यो सुखद विषय होइन । यो दुखको कुरा गर्नुपर्दा झन धेरै दुख लागिरहेको छ ।”
उनले औपचारिक रुपमा पार्टी विभाजन नभएपनि विभाजनको संघारमा रहेको र त्यसले आफुलाई निकै दुखी बनाएको बताए ।
उनले भने, “पार्टी विभाजनको संघारमा आईपुग्दा मैले मेरो मुटु चिरिएको, मुटु फुटेको अनुभव गरेको छु । सायद यति ठूलो पीडा हुँदैनथ्यो होला । इतिहासमा हामी धेरै पटक जुट्यौं पनि फुट्यौं पनि विगतका फुटहरुमा यतिको दुःख मैले अनूभूति गरेको थिईन । तर अहिले मलाई धेरै पीडा भएको छ । मैले माननीय सदस्यहरुको अनुहार हेरेको छु र मुटु छामेको छु । कसैले पनि पार्टी विभाजन हुनुलाई सही हो भन्नु भएको छैन । सबैको अनुहारहरु उदासिन छन् मलिन छन् । तर पनि इतिहासको यो क्षणमा हमी विभाजित हुन गईरहेका छौ । ”
उनले सिद्धान्त, विचार र दर्शनको आधारमा नभई राजनीतिक कारणले मात्रै पार्टी विभाजनको चरणमा पुग्नु झनै दुखद भएको टिप्पणी गरे । उनले विगतमा जनयुद्धमा जाने कि नजाने भन्ने आधारमा विभाजित भएको भएपनि अहिले भने राजनीतिक स्वार्थका कारण पार्टी विभाजनमा पुगेको बताए । उनले बामदेव गौतमले पार्टी विभाजनलाई जोडर रसायनको काम गर्छु भनेको उल्लेख गर्दे गौतमको अभियानको सफलताको कामना गरे ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन हुनु २०१७ साल पौष १ गते राजा महेन्द्रले चालेको प्रतिगमनकारी कदमकै पुनरावृत्ति भएको बताए । उनले प्रतिनिधिसभा विघटनलाई “संविधानमाथिको कु” भनी टिप्पणी गरे । संविधानमा नै नभएको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको भन्दै उनले असंबैधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कदमको जसपाले घोरआपत्ती प्रकट गरेको बताए ।
बैठकको सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यसैगरी मन्त्रिपरिषद् पुर्नगठन सम्बन्धी पत्र पनि पढेर सुनाएका थिए । त्यसैगरी राष्ट्रियसभा समितिहरुको गठन सम्बन्धी आदेशलाई बैठकले अनुमोदन गरेको छ । त्यसैगरी बैठकमा अघिल्लो अधिवेशन सकिएपछि सरकारले जारी गरेका विभिन्न ५ वटा अध्यादेशहरु पनि पेश भएको छ ।