सप्तरी – आर्थिक लेनदेनको विवादमा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबीकी २६ वर्षीया प्रमिलादेवी अमात रहेको धनुषाका प्रहरी प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिए।
दुहबीकै जीवन अमातका पाँच वर्षीय छोरो अभिनन्दन रायको हत्या आरोपमा महिलालाई पक्राउ गरिएको उनले बताए। बिहीवार दिउँसो दुई बजेदेखि घरबाटै अभिनन्दन अचानक सम्पर्कविहीन भएपछि प्रहरीको टोलीले खोजी गर्दै जाँदा प्रहरीले उनको शव बिहीबार साँझ साढे ७ बजे फेला पारेको थियो।
प्रहरीका अनुसार प्रमिलाले आर्थिक लेनदेन विवादलाई रिसइवी बनाई बालकको हत्या गरेकी हुन्। अभिनन्दन आफ्नै घर नजिक खेलिरहेको अवस्थामा चाउचाउको प्रलोभन दिएको र पछि निद्रा लागेपछि आफ्नै घर लगेर बच्चालाई सुताएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बच्चा सुतेपछि प्रमिलाले घाँटी थिचेर हत्या गरेको देखिएको छ। बच्चालाई हत्या गरेर प्रमिलाले आफ्नै बुवाको भैँसी बाँध्ने गोठमा शव गाडेकी थिइन्।
पाँच वर्षीय बालक अभिनन्दनको शव पोष्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।