
सप्तरी – बाराको सुवर्ण गाउँपालिका–८ का स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । प्रहरीले जनतालाई अनावश्यक रुपमा दुःख दिने गरेको भन्दै स्थानीयले टायर बाल्नुको साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।भारतबाट भन्सार छलेर अवैध रुपम बाख्रा ल्याएको भन्दै प्रहरीले बिहीबार बिहान ५४ वटा खसी बोका नियन्त्रणमा लिएको थियो ।
तर स्थानीय व्यापारीले भने भारतबाट नल्याएको गाउँघरमै पालेको दावी गर्दै प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरीले नियन्त्रणमा लिएको बाख्रा समेत खोसेर लगेका छन् । त्यसक्रममा दुई जना स्थानीय महिला घाइते भएका छन् । ३० वर्षीया बबिता खातुन, ६० वर्षीया लालदेवी खातुन घाइते भएका हुन् ।स्थानीय व्यापारीलाई दुःख नदिन आग्रह गर्न जाँदा आफूमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको सुवर्ण गाउँपालिका–८ का वडाध्यक्ष शैबुल्लाह मियाँले बताए । प्रहरी चौकी तेलकुवाका प्रहरी सहायक निरीक्षक राम नरेश यादवले आफ्नो कलर समातेर हातपत गरेको उनको आरोप छ । ‘स–साना व्यापारीको खसी लगेर प्रहरी कार्यालयमा राखेका रहेछन् । किन त्यसो गर्नुहुन्छ उनीहरुको रोजीरोटी त्यसैबाट चल्छ भनेर भन्न गएको थिएँ । तर सडकबाट समातेर भित्र लिएर गए । कलर समातेर गालामा झापड हाने, मुखबाट रगत आयो,’ उनले भने, ‘म लगायत गाउँका महिलामाथि पनि दुर्व्यवहार भयो । त्यसपछि स्थानीय आक्रोशमा आएर प्रदर्शन गरेका हुन् । ’नहरदेखि ९ किलोमिटर पर सीमा क्षेत्र रहेकोले भारतबाट अवैध रुपमा खसीबोका भित्र्याएको भन्नु गलत भएको उनको भनाइ छ । ‘पर्शुरामपुरमा ४० जना जति खसीबोका व्यापारी होलान्, उनीहरुले गाउँघरबाट खसी बोका खरिद गरेर संकलन गर्छन्,’ वडा अध्यक्ष मियाँले भने, ‘ सोमबार र बिहीबार कलैया र बरियारपुर बजारमा लगेर उनीहरुले त्यसलाई बिक्री गर्ने गर्छन् ।’वडा-६ का अध्यक्ष शिवधारी दास तत्मा पनि प्रहरीले स्थानीय व्यापारीलाई दुःख दिने गरेको बताउँछन् ।सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले प्रहरीले जनप्रतिनिधिको समेत कदर नगरेर हातपातमा उत्रिनु दुःखद् भएको बताए । ‘जनताले अन्यायमा पर्यौं भनेपछि जनप्रतिनिधि जानु नै पर्छ । वडाध्यक्षलाई जाने बित्तिकै कलर समातेर झापड हानिदिएछन्,’ उनले भने, ‘ जनप्रतिनlधिको कदर नगर्ने प्रहरीलाई कारबाही हुनुपर्छ ।’
प्रदेश सभा सदस्य बच्चा यादवले विभिन्न बहानामा प्रहरीले स्थानीयलाई दुःख दिने गरेको बताए । ‘कहिले खसी बोका उतार्ने, कहिले भैंसी घेर्ने, कुखुरा नियन्त्रणमा लिएर खाइदिने, प्रहरीलाई जे मन लाग्छ त्यही गरिरहेको छ,’ उनले भने, ‘भारतबाट भित्रिएको भनेर कुनै चिन्ह हुन्छ ? गाउँमा पनि खसीबोका बाख्रा पालिन्छ । तस्करी भएको छ भने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी के हेरेर बसिरहेका छन् त ? अनाहकमा सर्वसाधरणलाई दुःख दिने काम भइरहेको छ ।’प्रहरी ज्यादती विरुद्ध कसरी अगाडि जाने भन्ने बारेमा कलैयास्थित उद्योग वाणिज्य संघको हलमा छलफल भइरहेको उनले बताए ।तर प्रहरीले भने भारतबाट अवैध रुमपा भित्र्याइएको खसी बोका नियन्त्रणमा लिने क्रममा महिलालाई अघि सारेर अवरोध गरेको बताएको छ । खोसाखोस गर्ने क्रममा प्रहरीतर्फ पनि एक जना हवल्दार सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
वडाध्यक्ष माथि हातपात र दुर्व्यवहार भएको विषयमा प्रहरी कार्यालयमा उजुरी नपरेको उनको भनाइ छ । ‘अवैध रुपमा भित्र्याइएको आशंकामा खसीबोका नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेका हुन् । त्यसक्रममा सामान्य खोसाखोसम्म भएको हो,’ उनले भने, ‘अरु कुरा मेरो जानकारीमा आएको छैन ।’