१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – प्रक्रिया पूरा गरेर एएफसी क्लब लाइसेन्स हात पारेकै दिन आर्मीलाई एन्फाले एएफसी कप २०२१ को लागि दर्ता गरेको छ ।नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने भएको छ । पहिलो प्रयास अस्वीकृत भए पनि आर्मी अपिल गरेपछि प्रक्रिया पूरा गरेर मंगलबारमात्रै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने नेपालको पहिलो क्लब भएको थियो ।

यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप २०२१ का लागि नेपालको प्रतिनिधिको रूपमा आर्मीको टिमलाई एसियाली फुटबल महासंघ (एएफसी) मा मंगलबारै दर्ता गरेको छ ।‘एएफसी क्लब लाइसेन्सको नियम पूरा गर्नु हाम्रोजस्तो देशका लागि चुनौतीपूर्ण छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘विगतमा केही प्रक्रिया नमिल्दा नेपालका क्लबहरूले एएफसी क्लब लाइसेन्स पाएका थिएनन् । यसपालि सबै प्रक्रिया पूरा गरेर त्रिभुवन आर्मी फुटबल क्लब एएफसी क्लब लाइसेन्स पाउने नेपालको पहिलो क्लब बन्यो । एएफसी कप २०२१ का लागि टिम दर्ताको अन्तिम दिन मंगलबार (२२ डिसेम्बर) हो । त्यसैले हामीले एएफसी कपको लागि आर्मीको टिमलाई मंगलबारै एएफसीमा दर्ता गरेका छौं ।’एन्फाले घरेलु फुटबलको सर्वोच्च प्रतियोगिताको रूपमा राजधानीका क्लबहरूवीच सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गरिरहेको छ । गत वर्ष सम्पन्न ‘ए’ डिभिजनस लिग २०७६ मा आर्मी उपविजेता भएको थियो । आर्मीले अन्तिम खेलमा मछिन्द्रविरुद्ध १–० को हार बेहोरेपछि पहिलोपल्ट लिग च्याम्पियन बन्ने अवसर गुमाएको थियो । नयाँ लिग विजेता बनेको थियो मछिन्द्र । तर मछिन्द्र, आर्मी, मनाङ मर्स्याङदी, थ्रीस्टारसहित ‘ए’ डिभिजनका १३ क्लबले एएफसी क्लब लाइसेन्सका लागि गरेको प्रयासलाई यससम्बन्धी जिम्मेवारी पाएको फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले ३० नोभेम्बरमा अस्वीकृत गरिदियो । त्यो निर्णयविरुद्ध आर्मीले अपिल कमिटीमा निवेदन दिएको थियो, जसले आर्मीलाई एएफसी क्लब लाइसेन्स दिने मंगलबार निर्णय गरेको एन्फाले जनाएको छ ।

नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेको छ । त्यसैले लिग च्याम्पियन मछिन्द्र एएफसी क्लब लाइसेन्स रेगुलेन्स २०२० पूरा गर्न असफल भएपछि एन्फाले एएफसी कपमा आर्मीलाई पठाएको हो । क्लबको आर्जनका हिसाबले पनि एएफसी कपलाई आकर्षक मानिन्छ । पछिल्लोपल्ट मनाङले खेल्दा विदेशी भूमिका हरेक खेलबाट ४० हजार अमेरिकी डलर पाएको थियो । थ्रीस्टारले २०१७ र मनाङले २०१८ मा एएफसी कप खेलेका थिए । तर, त्यतिबेला सहभागी हुनका लागि एएफसी क्लब लाइसेन्स अनिवार्य गरिएको थिएन । छनोट चरण पार गरे पनि एन्फाले तोकिएको मितिमा टिम दर्ता नगर्दा थ्रीस्टार समूह चरणमा खेल्नबाट वञ्चित भएको थियो, त्यसको क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ थ्रीस्टारलाई दिने एन्फाले सम्झौता गरेको थियो । मनाङले सिधै समूह चरणमा प्रतिस्पर्धा गरेको थियो तर टोलीले दक्षिण एसियाली क्षेत्रबाट सेमिफाइनलमा स्थान बनाउन सकेन ।एएफसीले सन् २०१६ देखि आफ्नो प्रतियोगितामा क्लब लाइसेन्स लागू गरेको थियो, जसलाई २०१८ देखि अनिवार्य गरिएको थियो । गत वर्ष गलत तरिकाले सिफारिस गरेर क्लब लाइसेन्स दिलाएको भन्दै एन्फालाई एएफसीको अनुशासन र नैतिक समितिले ३५ हजार डलरसम्म जरिवाना गर्ने निर्णय गरेको थियो, जसमा तत्कालै १० हजार तिराइएको थियो भने बाँकी २५ हजार डलर एन्फाले दुई वर्षभित्र गर्ने कार्यमा निर्भर हुने भनिएको थियो । त्यतिबेला एन्फाको सिफारिसमा ९ क्लबले एएफसी क्लब लाइसेन्स हात पारेका थिए । ती सबैको मापदण्ड नपुगेको भन्दै एएफसीले एन्फालाई जरिबाना गरेको थियो ।

एएफसी क्लब लाइसेन्सका लागि सिनियर टिम, युवा टिम, युवा खेलाडी विकासको कार्यक्रम, मुख्य प्रशिक्षकको नियुक्ति, चिकित्सक, खेलाडीसँग सम्झौता, खेल मैदान, सुविधा, व्यवस्थित कार्य सञ्चालनका लागि कर्मचारी, बजेट, कानुनी प्रक्रियालगायत १८ वटा मापदण्ड तोकिएको थियो, जुन पूरा गर्ने प्रक्रियामा आर्मी महिनौंअघि नै लागेको थियो । व्यावसायिकताको प्रक्रियामा जाने क्रममा आर्मीले दशकौंदेखि प्रयोग गरिरहेको नाम त्रिभुवन आर्मी क्लबलाई परिवर्तन गर्दै गत सातामात्रै त्रिभुवन आर्मी फुटबल क्लबको रूपमा राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]