१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – मैथिली भाषामा जनकपुरका गीतकार दिगम्बर झा ‘दिनमणि’ले ‘अनारवती डोमरी तोरे डोम कत्त गेलौ’ डोमकछ गीत पहिलो पटक लेखेका थिए । मैथिली भाषाका लोकप्रिय गायक आभाष लाभ, रश्मि र सुनील मल्लिकले स्वर दिएको गीत जनकपुरसहित मिथिला क्षेत्रमा धेरै रुचाइएको थियो ।

गंगा क्यासेटले ‘गीत घरघर के’ एल्बम निकालेपछि गीतले झन् लोकप्रियता पाएको थियो ।अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रममा मिथिलाका कलाकारले डोमकछ गीतमा नृत्य प्रदर्शन गर्ने गरेका हुन्छन् । तर मैथिली भाषामा लेखिएका त्यो गीतको लागि पहिलो पटक ‘कोरियोग्राफी’ भने जनकपुरका नेपालीभाषी दिलिप घिसिङले गरेका थिए । घिसिङले मैथिली भाषामा गाइने त्यतिबेलाका थुप्रै गीतमा कोरियोग्राफी गर्दै नृत्य गरे ।४९ वर्षीय घिसिङले डोमकछ सँगसँगै मैथिली भाषामा लेखिएका ‘बारहमासा’, ‘चैतावर’, ‘जटजटिन’, ‘समदाओन’, ‘बधइया’, ‘झरी झरी’ लागायतका दर्जनौं गीतका लागि कोरियोग्राफी गर्दै नृत्यका लागि चाहिने कलाकार जुटाएर आफैं पनि नृत्य गर्ने गरेका थिए । २०४६ सालदेखि आफूले कोरियोग्राफी शुरू गरेको उनी बताउँछन् । त्यतिबेला मिथिला नाट्यकला परिषद् (मिनाप) ले मैथिली भाषामा लेखिएका नाटकहरू रंगमञ्चमा मञ्चन गर्ने काम गर्थ्यो । तर नाटकमा गीत गाउने तथा नृत्य गर्ने काम हुँदैन्थ्यो । आफूले नृत्य गर्ने, गितार बजाउने काम गरेको भन्ने सुनेपछि मिनापका कलाकार रमेश रंजन झासँग परिचय हुन पुगेको उनले बताए ।‘उहाँ सँगसँगै महेन्द्र मलंगिया सरसँग परिचय भएर कुराकानी हुँदै गर्दा अब नाटक सँगसँगै मैथिली भाषामा गीत पनि लेख्ने र गीतमा नृत्य पनि गर्ने भन्ने कुरा भएपछि प्रायःजसो सबै गीतहरू दिगम्बर झा दिनमणि सरले लेख्ने तथा मैले कोरियोग्राफी गर्ने कामको शुरूआत गरेको थियौं,’ घिसिङले लोकान्तरसँग भने, ‘त्यसपछि नाटकमा गीति नाटकको पनि प्रयोग हुन थालेपछि अभिनय गर्ने कलाकारलाई नृत्य सिकाउने काम मात्र गरिनँ, कतिपय नाटकमा आफैं नृत्य पनि गरेको थिएँ ।’

मैथिली भाषामा लेखिएका गीतले के भन्न खोजेको हो भनेर राम्रो तरिकाले बुझाउने र भाव तथा आशय अनुसार नृत्यको कोरियोग्राफी गर्थे उनी । कोरियोग्राफीको काम गर्नुभन्दा पहिले उनी गितार बजाउने काम गर्थे । जनकपुरमा आयोजना हुने प्रायःजसो सांस्कृतिक कार्यक्रममा गितार बजाउने काम गर्नुका साथै नृत्य पनि गर्ने गरेको उनी सम्झिन्छन् ।२०४६ सालपछि प्रत्येक वर्ष दशैंमा जनकपुरको राजदेवी मन्दिरमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्थ्यो, त्यसै कार्यक्रममा उनले गितार बजाएर दर्शकलाई झुमाउने काम गर्थे ।काठमाडौंमा देशका १४ वटा अञ्चलबाट ५० वटा नृत्य टोली सहितको सहभागितामा राष्ट्रिय नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा उनकै नेतृत्वमा जनकपुरबाट गएको टोलीले मैथिली भाषाको गीत डोमकछमा नृत्य प्रस्तुत गर्दा दोस्रो स्थान पाउन सफल भएको थियो । ‘जट जटिन’ नामक गीतको कोरियोग्राफी सबैभन्दा पहिले आफूले नै गरेको तथा जनकपुरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममध्ये सबैभन्दा बढी प्रस्तुत गरिएको नृत्य त्यही नै रहेको उनले बताए । नेपाल टेलिभिजनबाट प्रसारण गरिएको ‘छमछमि’ नृत्य प्रतियोगिताको पहिलो भागको जनकपुरमा अडिसन हुँदा नेपालका चर्चित कलाकार मिथिला शर्मासँग जजको भूमिका निर्वाह समेत गरेको उनले बताए । जनकपुरमा नै जन्म भएको कारण मैथिली भाषा समेत राम्रो तरिकाले जान्न सक्ने हुँदा आफूले मैथिली भाषामा केही नाटकहरू पनि लेखेको उनी बताउँछन् । खासगरी सडक नाटकहरू ‘प्रण’, ‘राजा जनक फेनो जनकपुर एताह’, ‘पोस्टमार्टम’, ‘वृद्धाश्रम’, ‘बेटी बचाऊ बेटी पढाऊ’ जस्ता नाटक समेत लेखेर पटक–पटक मञ्चन गरेको उनले बताए । अहिले पनि मैथिली भाषामा ‘प्रेमध्वज’ नामक धारबाहिक लेखिरहेको उनले बताए । मिनापको ‘लेहुआएल आंचर’ सडक नाटकको समेत कोरियोग्राफी र अभिनय गरेको उनले बताए ।गीत, संगीत, नृत्य, साहित्य सिर्जन गर्ने काम गर्नुभन्दा पहिले उनी एथेलेटिक्सका खेलाडी समेत थिए । २०४५ सालमा पोखरामा आयोजना भएको १० किलोमिटर दौडको ‘क्रस कन्ट्री’को राष्ट्रिय प्रतियोगितामा चौथो स्थान पाउन सफल भएका थिए उनी । ४२ किलोमिटरको म्याराथन दौडमा सिधा बाटो हुन्छ र सिधा नै दौड्नुपर्छ तर ‘क्रस कन्ट्री’ दौडमा १० किलोमिटर भए पनि उबडखाबड, पहाड, उकालोओरालो बाटोमा दौड्नुपर्छ । त्यो दौड बिहान–साँझ खाजा खान पाइन्छ भनेर दौड्ने गरेको उनले बताए ।

‘२०४५ सालमा काठमाडौंबाट एक जना कोच आउनुभएको थियो, बिहान–साँझ दौडको अभ्यास गर्दा पुरी–जिलेबीको खाजा हामीले निःशुल्क पाउछौं भनेर भनेपछि खाजाको लोभमा ३ महिनासम्म दौडको अभ्यास गरेका थियौं,’ उनले थपे, ‘घरमा आर्थिक समस्या भएको बेला कम्तिमा २ टाइम खाजा त खान पाइन्छ भनेर दौडेको थिएँ । ’७ कक्षामा पढ्दै गरेको बेला उनका बुवा सिंहबहादुर घिसिङको मृत्यु भएपछि घर बेसहारा भएको थियो । अनि घरपरिवार चलाउन त्यतिबेलै उनले आमाको साथ लिएर रक्सी पसल थाप्नुपरेको थियो । २ वर्षपछि पसल हटाएर पढाइ सँगसँगै ट्यूसन पढाएर जीवनलाई अगाडि बढाउने काम गरेका थिए उनले ।‘सांस्कृतिक काममा लागेपनि आर्थिक उपार्जन नभएपछि दाइले यो कामले पेट पाल्न सक्दैनस्, पछि पछुताउनुपर्छ भनेर भन्नुहुन्थ्यो,’ घिसिङले भने, ‘भयो पनि त्यस्तै, ती कामले रोजीरोटी चल्न सकेन, पेट पाल्न शिक्षण पेशामा लाग्नुपर्‍यो ।’ आफ्नै निजी स्कूल सञ्चालन गरेपनि घाटा लागेर बेच्नु परेको उनले बताए । ‘अहिले बोर्डिङ स्कूलमा पढाउनु परेको छ ।

नृत्य, संगीतमा लागेर पेट पाल्न तथा परिवार पाल्न गाह्रो भए पनि स्थानीय मानिसहरूले गर्ने प्रशंसाका कारण आत्मसन्तुष्टि समेत हुने हुँदा संगीत क्षेत्रमा लागेको थिएँ,’ उनले भने, ‘त्यसमा म सन्तुष्ट छु, अहिले छोरीले पनि नृत्य सिकेर अरु केटाकेटीलाई नृत्य सिकाउन थालेकोमा खुशी छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]